चलचित्रमा वास्तविक फाेन नम्बर परेपछि...

४ बर्ष अगाडि



काठमाडौँ – भारतमा सामान्य व्यवसाय गरेर जीवन चलाइरहेका २६ वर्षीय पुनीत अग्रवाललाई २६ जुलाईमा सयभन्दा बढी कल आयो । अरू बेला उनलाई बढीमा १० कलभन्दा फाेन आउँदैन थियाे । 

भोलिपल्ट पनि त्यसैगरी सयौं कल फोन आयो । उनी छक्क परे । फोनकर्ताले सोध्ने शब्द प्राय एउटै हुन्थ्यो, ‘के म सन्नी लियोनीसँग कुरा गर्न सक्छु ?’

उनी उत्तर दिन्थे, ‘सरी रंग नम्बर ।’ तर, फोनकर्ता जिद्दी गर्थे, ‘एकपटक बोल्न दिनु न, प्लीज ।’

सुरुमा त उनलाई कसैले जिस्काइरहेको जस्तो लाग्यो । तर, अत्ती भएपछि उनी सोच्न बाध्य भए ।

दैनिक सयभन्दा बढी कल । पुनीत छक्क परे । एक फोनकर्ताले उनलाई भने, ‘मैले अर्जुन पटियाला चलचित्रबाट यो नम्बर टिपेको हुँ ।’

२६ जुलाईमा अमेरिकी पूर्व पोर्न स्टार सन्नी लियोनी अभिनित चलचित्र अर्जुन पटियाला रिलिज भएको थियो ।

त्यसको पर्सीपल्ट उनले त्यो चलचित्र हेरे । सन्नी लियोनीले निभाएको पात्रको नम्बर आफ्नो नम्बरसँग ठ्याक्कै मिलेको उनले थाहा पाए । जसले गर्दा उनैलाई सन्नी लियोनी सम्झिएर पुरुषहरुले धमाधम फोन गरिरहेका थिए ।

त्यसपछि चलचित्रले आफ्नो फोन नम्बर प्रचार गरिदिएको र फोन आएर हैरान भएको गुनासो गर्दै उनी मिडियामा आएका छन् ।

बीबीसीका अनुसार चलचित्र प्रदर्शनमा आएको २६ जुलाईदेखि आफूलाई दैनिक एक सयभन्दा बढी फोन आउन थालेको अग्रवालले बताएका छन् । ‘म आजकाल सपना पनि देख्दिनँ,’ अग्रवाललाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ, ‘फोन बिहान चार बजेसम्म बज्छ ।’

धेरै फोन आएर हैरान भएपछि चलचित्रबाट नम्बर हटाउन उनले कानुनी प्रक्रिया अघि बढाएका छन् ।

अमेरिकी पूर्व पोर्न स्टार सन्नी लियोनी वयस्क चलचित्रमा अभिनय गर्ने कारण उनी भारतमा सेक्स सिम्बोलका रूपमा परिचित छिन् । त्यसैले भारत वा विदेशबाट पनि त्यो नम्बर लियोनीको नै हो भनेर धेरै पुरुषहरूले अग्रवालको नम्बरमा फोन गरेका अनुमान गर्न सकिन्छ । यो कुराले आफूलाई मानसिक तनाव नै दिएको अग्रवालले बताएका छन् । ‘यो नमबर मेरो व्यवसायसँग जोडिएको छ,’ उनले भने, ‘ र धेरै पुराना साथीहरूसँग यही नम्बर भएकाले म यसलाई छोड्न पनि सक्दिनँ ।’

चलचित्रका निर्देशक रोहित जगराज चौहान भने यस विषयमा मौन छन् । उनले केही बोल्न चाहेका छैनन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया