मेक्सिकाली विदेशमन्त्रीले भने "एल पासो गोलीकाण्ड आतंकवादी कार्य हो"

४ बर्ष अगाडि

मेक्सिको – मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकाको एल पासोमा भएको गोलीकाण्डलाई मेक्सिकोका नागरिकले आतंकवादी कार्यका रुपमा लिएको बताउनुभएको छ । 

उहाँले एल पासो गोलीकाण्डमा केही मेक्सिकाली नागरिकको पनि मृत्यु भएकाले गोली चलाउने व्यक्तिलाई मेक्सिको सुपुर्दगी गर्न अमेरिका समक्ष आग्रह गरिने जानकारी दिनुभएको छ । 

अमेरिकाको टेक्सासस्थित एल पासोको एक वाल्मार्ट सपिङ मलमा शनिबार एक व्यक्तिले गोली चलाउँदा २० जनाको मृत्यु भएको थियो । मारिएका व्यक्तिमध्ये सात जना मेक्सिकाली मूलका व्यक्तिहरु परेका थिए ।

मेक्सिकोका महान्यायाधीवक्ताले गोली चलाउने व्यक्तिलाई सुपुर्दगी गराउने विषयमा सम्भावित कानुनी बाटो खोजी गरिरहेको विदेशमन्त्री एब्रार्डले बताउनुभयो । गोली चलाउने व्यक्ति हाल अमेरिकी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

विदेशमन्त्री एब्रार्डले मेक्सिकोले गोली चलाउने व्यक्तिलाई आतंकवादी ठहर गरेको पनि बताउनुभयो । 

अर्कोतर्फ, मेक्सिकाली राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले एल पासो घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउँदै संयुक्तराज्य अमेरिकामा हतियारको खुलेआम प्रयोगमा नियन्त्रण आवश्यक छ भन्नुभयो ।

विदेशमन्त्री एब्रार्डले पीडित परिवारसँग भेट गर्न सोमबार एल पासोको भ्रमण गर्न लागेको पनि बताउनुभयो । 

प्याट्रिक क्रुसियस नाम गरेका २१ वर्षीय एक युवाले टेक्सासमा हिस्पानिक समुदायका व्यक्तिको आप्रवासन बढेको भन्दै एल पासोस्थित वाल्मार्ट सपिङ मलमा अन्धाधुन्ध गोली चलाएका थिए ।

मेक्सिकोसँगको सीमा नजिक अमेरिकाको एल पासोमा ल्याटिनो समुदायका मानिसको बाक्लो बसोबास छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया