बैंक डिफल्डर ढकालका कारण उद्योग वाणिज्य महासंघमा लफडा

४ बर्ष अगाडि

 काठमाडौँ – नेपालका उद्योगी व्यवसायीको छाता संगठनको नाममा परिचित छ नेपाल उद्योग वाणिज्य महासंघ । महासंघका अध्यक्ष को हुन् भन्दा धेरैले सहजै उत्तर दिन्छन, भवानी राणा । तर तथ्याकहरुले राणा अध्यक्ष भएको बताउँदैन । राष्ट्रिय वाणिज्य बैंकको रु एक अर्ब बराबरको ऋण नितिरी बसेका बैंक डिफल्डर चण्डीराज ढकाल महासंघ भित्रका नदेखिने अध्यक्ष हुन् । त्यसो त उनी यसअघि महासंघका अध्यक्ष नै हुन् र थिए पनि ।

तर पछिल्ला दिनमा महासंघका जो जो अध्यक्ष भएपनि महसंघ चलाउने उनै ढकाल नै रहेका छन् । महासंघलाई आफ्नो व्यक्तिगत स्वार्थमा परिचालन गर्न ढकालले के सम्म गरेका छैनन् । बैंकको ऋण तिर्नु नपर्ने , जे जे मन  लाग्छ, सोही सोही गर्ने विशेष स्वभाव भएका ढकालले महासंघलाई पुनः आफ्नै स्वार्थमा चलाउन गर्न हुने नहुने सबै हर्कत गरेको व्यवसायीहरु बताउँछन् । उनले पछिल्लो पटक नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनका लागि विशेष साधारणसभा बोलाउनका लागि अध्यक्ष राणालाई दबाव दिएका छन् । त्यसको पछाडि ढकालले आफ्नो स्वार्थ पूरा गराउने उद्देश्य रहेको छ । 

विशेष साधारणसभाको मिति तोक्ने तयारी गरिएको छ । कार्यसमिति बैठक बोलाइएको महासंघ सचिवालयले जनाएको छ । विधान संशोधन दुई एजेण्डामा केन्द्रित रहेको छ । ती एजेण्डा भनेका उनै बैंकको ऋण नतिर्ने ढकालको रहेको छ ।  महासंघको अध्यक्षमा निर्वाचन र पदावधि दुई वर्ष बनाउने गरि विधान संशोधन गरिन लागेको छ । हाल महासंघ कार्यसमितिको कार्यकाल तीन वर्षको छ । कार्यकाल दुई वर्षको बनाउन उनै ढकालले प्रयास थालेका छन् । सोही उद्देश्य अनुसार नै ढकालको सेटिङमा विशेष साधारणसभा बोलाउन लागिएको हो । 

चार बर्षअघि वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान बनाइएको थियो । यही प्रावधानलाई टेकेर अध्यक्ष बनेकी भवानी राणाले विधान संशोधनका लागि मार्गप्रशस्त गरेकी थिईन् । राणाले नै आफूलाई अध्यक्ष बनाउन स्वतःको प्रावधान राखेकी थिइन् । उनले महासंघका विशिष्ठ सदस्य एवं पूर्व अध्यक्ष चण्डी ढकालको संयोजकत्वमा विधान संशोधन समिति बनाएकी थिईन् । जतिखेर पनि महासंघलाई आनै एजेण्डामा चलाउन सिपालु ढकालले पुनः अर्को पासा फालेका छन् । दुई बर्षको कार्यकाल बनाउने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउन लागिएको छ । 

पुन ः उनै चण्डी ढकालको समितिले दिएको सुझाबका आधारमा विधान संशोधन गर्न खोजिएको बताइएको छ । जानकार स्रोतहरुले दिएको सुझावका आधारमा  वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष हुनबाट रोक्नेगरी विधान संशोधनको प्रक्रिया अगाडि बढाउन लागिएको हो । जसरी भएपछि शेखरलाई अध्यक्ष हुनबाट रोक्ने योजनामा ढकाल लागेका छन् । 

महासंघभित्र सँधै प्रभावशाली भूमिकामा रहेका ढकालले नै विधान संशोधनका लागि राणालाई दबाब दिएका थिए । त्यही दबाबका आधारमा विधान संशोधन समिति बनाइएको हो ।  विधान संशोधनले वरिष्ठ उपाध्यक्ष शेखरको हकमा के हुने भन्ने पनि  टुङ्गो गर्ने तयारी गरिएको छ । शेखरलाई रोक्नका लागि ढकालले हुने नहुने सबै खालका हर्कत अगाडि बढाएका छन् ।  स्रोतका अनुसार अध्यक्ष राणा गोल्छापछि हुने निर्वाचनबाट कार्यान्वयनमा ल्याउन चाहेकी छिन् । तर ढकाल पक्ष भने विधान संशोधन भएपछि अध्यक्षको निर्वाचन हुने मत जाहेर गरिरहेका छन् । तर त्यसलाई कार्यन्वयन हुन नदिन ढकाल समूह मरिमेटेर लागेको छ । 

विधान संशोधनको मुद्दा विशेष साधारणसभामा कुनैपनि हालतमा पारित गरेरै छाडने योजनामा ढकाल समूह लागेको छ । जिल्ला तहमा वर्चस्व रहेको दावी गर्ने ढकालले अध्यक्षमा निर्वाचन नै गराउने गरी रणनीति बनाइरहेको देखिन्छ । आफू अनुकूल विधान बनाउने, आफू अनुकल काम गराउने व्यक्तिको खोजी गर्ने योजनामा ढकाल समूह विगतदेखि नै लागेको हो । 

जानकार स्रोतका अनुसार आफू अनुकूल विधान बनाउने र आफूले चाहेको व्यक्तिलाई अध्यक्ष बनाउन उनले सबै प्रकारका हर्कत गरेका छन । ढकालको मुद्दामा उपाध्यक्ष किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठले समेत साथ र सहयोग गरेका छन् । उनीहरु पनि शेखरलाई जसरी भएपनि रोक्ने योजनामा लागेका छन् । उनीहरु दुवै अध्यक्षको आकाक्षी समेत रहेकाले जसरी भएपनि शेखरलाई रोकेर उनीहरु मध्ये एक जनालाई अध्यक्ष बनाउने र अर्कोलाई वरिष्ठ उपाध्यक्ष बनाउने गरी ढकालले षड्यन्त्र गरिरहेका छन् । विधान संशोधनमा अर्का उपाध्यक्ष चन्द्र ढकाल भने मौन रहेको जानकारहरुको भनाइ छ । किनकी ढकाल पनि महासंघको अध्यक्ष बन्न लालायित छन् ।

उद्योग व्यवसायको नाममा बैंक, बीमा जस्ता व्यवसाय गरेका ढकाललाई पनि अध्यक्ष बन्ने भूत सवार भएको छ । विधान संशोधन र आफ्नो पक्षमा पार्नकै लागि हालै महासंघले यूरोप र चीन भ्रमण गराएको स्रोतको दाबी छ । यूरोप भ्रमण उपाध्यक्ष प्रधानकै नेतृत्वमा चार दर्जन भन्दा बढी उद्योगी र व्यापारी पठाइएको थियो । व्यापारीलाई विदेश पठाउने, रमाइलो र राम रमितामा भुलाएर आफ्नो स्वार्थ पूरा गराउन लागिपरेका छन् ।  

महासंघ पछिल्लो समयमा कानुनी उल्झनमा धेरै पटक फसिसकेको छ । त्यसरी फस्नुको पछाडि पनि उनै ढकाललगायतको गिरोहको हात रहेको व्यवसायीको भनाइ छ । यसअघि  वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि भएको विधान संशोधनका विरुद्धमा पनि सर्वोच्चमा मुद्दा परेको थियो । सो विषयमा अन्तरिम आदेश भएपनि पूर्ण आदेश भने आएको छैन । 

पूर्व उपाध्यक्ष भाष्करराज राजकर्णिकार र गोविन्दराज घिमिरेले विधान विशेष साधारणसभाबाट संशोधन गर्न नमिल्ने भन्दै रिट दायर गरेका थिए ।  अहिलेको विधान संशोधनले शेखरलाई बाटो छेकेमा कानुनी बाटो खोज्ने उनी निकट व्यापारी बताउँछन् ।

 ‘विधान संशोधनमार्फत शेखरको बाटो छेके कानुनी बाटो खोज्ने निश्चित छ । त्यसले महासंघलाई अझै कमजोर बनाउने । ढकाललगायतले उद्योगी व्यवसायीको छाता संगठनलाई निरन्तर बदनाम बनाउँदै लगेका छन् । उनीहरुको सोही हर्कतका कारण महासंघ उद्योगी व्यवसायीको छाता संगठन हो भन्ने मान्यतामा समेत खण्डित भएको छ । किनकी ढकालहरु महासंघका लागि केवल धमिरा जस्तै भएका छन् । जसका कारण महासंघले क्रमशः साख गुमाउँदै गएको छ । महासंघको काम उद्योग व्यवसाय विस्तार गर्नु भएपनि ढकालहरुले उद्योगीलाई नै बदनाम गराउन लागिपरेका छन् । 

बैंकको ऋण नतिर्ने ढकालहरुलाई कानूनी कारवाही गराउन समेत सरकार असफल भएको छ । अरु व्यवसायीले एक महिना भन्दा बढी ऋण नतिरे कालोसूचीमा राख्ने, सार्वजनिक सूचना जारी गर्ने, अर्थमन्त्रालय, केन्द्रीय बैंक तथा ऋण असुली न्यायाधिकरणलगायतले कारवाहीको प्रक्रिया अगाडि बढाउँथ्यो । तर ढकालले भने आफू प्रधानमन्त्री केपी शर्मा ओलीको नजिकको व्यापारी भएको भन्दै सधै उन्मुक्ति पाउँदै आएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया