बकुलहर अस्पतालमा अन्तरङ्ग सेवा

४ बर्ष अगाडि

पूर्वी चितवनमा रहेको सरकारी बकुलहर रत्ननगर अस्पतालमा भदौबाट बिरामी भर्ना सुविधा दिइने भएको छ । पन्ध्र श्ययाको सो अस्पतालमा हाल बहिरङ्ग सेवा मात्रै सञ्चालन हुँदै आएको छ । 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेका अनुसार सो क्षेत्रका बिरामीलाई सुविधा दिलाउने उद्देश्यले सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा स्थानीयवासीले धान्याञ्चल महायज्ञ लगाएर निर्माण गरेको एउटा भवन रहेको छ ।

यसैगरी शान्ति मेड नामक गैरसरकारी संस्थाका डा रुथले हालै रु ६ करोड लगानी गरेर अर्को भवन बनाइदिनु भएको छ । चर्मरोग विशेषज्ञ डा रुथको नेतृत्वमा अन्य दुई चिकित्सकबाट अस्पतालमा छालाको बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ । दैनिक छालाका मात्रै एक सय बिरामी उपचारका लागि आउने गरेको डा बगालेको भनाइ छ ।

यससँगै दाँत, प्रसूति र बालबालिकालाई लक्षित गरी बहिरङ्ग सेवा सञ्चालन हुँदै आएको छ । अस्पतालले ४५ जनाको मिर्गौलाको डायलासिससमेत गर्दै आएको छ । अस्पतालमा प्रसूति सेवासमेत सञ्चालन हुँदैआएको छ । मासिक ३० भन्दा बढी महिलाले प्रसूति सेवा लिने गरेको उहाँले जानकारी दिनुभयो । 

नवजात शिशु उपचार केन्द्रसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको डा बगालेले बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाउन पहल गरिएको बताउनुभयो । यस सम्बन्धमा नगर कार्यपालिका बैठकले निर्णय गरी प्रदेशमा पेश गरेको र विभागीय मन्त्रीले निरीक्षणसमेत गरिसक्नुभएको उहाँले जानकारी दिनुभयो ।
 
कम्तीमा ५० श्ययाको अस्पतालको रूपमा स्तरोन्नति गरी पूर्वी चितवनका जनतालाई सेवा दिलाउन नगरपालिका लागिपरेको उहाँको भनाइ छ । सो क्षेत्रमा रत्ननगरसँगै खैरहनी, राप्ती र कालिका नगरपालिका रहेका छन् । सो अस्पताललाई विस्तार गर्न सके पूर्वी चितवनका चार नगरपालिकावासीलाई सेवा पुग्ने र भरतपुरमा रहेको सरकारी अस्पतालमा विरामीको चाप घट्ने अपेक्षा गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया