अमेरिका–भेनेजुएला विवादमा क्युबाली राष्ट्रपतिको यस्तो इन्ट्री

४ बर्ष अगाडि

क्युबाका राष्ट्रपति मिगेल डायाज–केनेलले अमेरिका समेतका पश्चिमी मुलुकको बहिस्करणमा परेको भेनेजुएला सरकारमाथि पुनः समर्थन जनाउनुभएको छ । 

राष्ट्रपति डायाजले अमेरिकी आर्थिक प्रतिबन्धको विरोध गर्दै भेनेजुएलाका जनताको प्रतिष्ठा र क्षमतालाई कसैले होच्याउन नसक्ने बताउनुभएको छ ।

राष्ट्रपतिले शनिबार गर्नुभएको ट्वीटमा भनिएको छ, “भेनेजुएलाका जनताको बोलिभार क्रान्तिकारितालाई कुनै पनि बाह्य शक्तिले तोड्न सक्दैन ।”

दुई हप्ताअघि क्युबाका राष्ट्रपति डायाजले भेनेजुएलाको भ्रमण गर्नुभएको थियो । साओ पाउलो फोरमको २५औं बैठकमा सहभागी हुन भेनेजुएला पुग्नुभएका राष्ट्रपति डायाजले भेनेजुएलाको संवैधानिक सङ्कट विदेशीको उक्साहटमा भएको बताउनुभएको थियो ।

उक्त बैठकमा राष्ट्रपति डायाजले क्युबाले भेनेजुएलाप्रतिको आफ्नो अडान र विश्वास कहिल्यै नत्याग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको सम्पूर्ण सम्पत्ति रोक्का राख्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

अमेरिकाले विपक्षी नेता हुवाँ गुएइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएपछि भेनेजुएलाले अमेरिकासँगको कुटनीतिक सम्बन्ध गत जनवरीमै तोडेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया