चितवनमा वन्यजन्तु पालन केन्द्र बनाइदै

४ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु पालनका निम्ति नमूना केन्द्र निर्माण गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले केन्द्र स्थापनाका लागि रु ८० लाख बजेट विनियोजन गरिसकेको छ । 

विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार वन्यजन्तुको अध्ययन, अनुसन्धान, प्रजनन तथा पालन गर्ने व्यवस्था हुन लागेकाले ती वन्यजन्तु वितरण र पालनका सम्बन्धमा जानकारी दिने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को २०७३ मा भएको पाँचौँ संशोधनमा वन्यजन्तु पाल्न सक्ने व्यवस्था गरिएको छ । 

सोहीअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को पाँचौँ संशोधन मन्त्रिपरिषद्मा छ । केन्द्र स्थापना भएसँगै त्यहाँबाट तोकिएका बीउप्राणी खरीद गरेर लैजान, अध्ययन, अनुसन्धान गर्न सहज हुने श्रेष्ठले जानकारी दिनुभयो । 

ऐनले उल्लेख गरेका वन्यजन्तु पाल्न चाहनेले सरकारले तोकेको राजश्व तिरेर पाल्न पाउने छन् । केन्द्रमा कसरी वन्यजन्तु पाल्न सकिन्छ भन्ने नमूनासमेत देखाइने उहाँको भनाइ छ । ऐनको अनुसूची १ मा नभएका मृग प्रजाति, चरा, सर्प, बदेल, बाँदरजस्ता जनावर पाल्न सकिने छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले कसरा नजिकै देवनगरमा केन्द्र बनाउने तयारी गरिएको बताउनुभयो । सो ठाउँमा वन्यजन्तुको उद्धार केन्द्र बनिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया