गौतमबुद्ध विमानस्थलाई विशेष प्रसारण लाइन, यस्तो भयो सहमति

४ बर्ष अगाडि

काठमाडौं – भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलका लागि आवश्यक विद्युत् सेवा उपलब्ध गराउन अन्तरसरकारी निकायबीच आवश्यक समन्वय गरिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको छलफलमा नेपाल विद्युत् प्राधिरकण, सडक विभाग तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच समन्वय गरेर काम गर्ने विषयमा सहमति भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, पर्यटन राज्यमन्त्री धनबहादुर बुढालगायतले निर्माणाधीन अन्तर्रा्ष्ट्रिय विमानस्थलका लागि आवश्यक डेडिकेटेड प्रसारण लाइन निर्माणका क्रममा देखिएका समस्या निरुपण गर्ने उपायको खोजी गर्ने लक्ष्यका साथ छलफल भएको हो ।

छलफलमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट गरिने सम्पूर्ण काम प्राधिकरणले तत्काल शुरु गर्ने, सडक विभागका तर्फबाट गर्नुपर्ने काम पनि तत्कालै शुरु गर्ने र त्यसमा नागरिक उड्डयन प्राधिकरणले आवश्यक सहजीकरण गर्ने विषयमा सहमति भएको ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले जानकारी दिए ।

छलफलमा मन्त्री पुनले विकासमैत्री भएर काम गर्न मातहतका कर्मचारी र निकायलाई निर्देशन दिए  । कतिपय निकाय विकासमैत्री हुन नसक्दा समस्या देखिएको छ । राष्ट्रिय गौरवका आयोजना अगाडि बढिरहेको छ । सबै निकायले आ–आफ्नो जिम्मेवाराी समयमै पूरा गरून् भन्ने मेरो अपेक्षा छ, मन्त्री पुनले भने ।

यस्तै सो अवसरमा पर्यटनमन्त्री भट्टराईले  विमानस्थल निर्माणका क्रममा देखिएका समस्या तथा विद्युत् सेवाका लागि गर्नुपर्ने काम कारवाहीका बारेमा जानकारी गराएका थिए । छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवद्वय डा सञ्जय शर्मा, दिनेशकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्की लगायतको सहभागिता थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया