सयपत्री खेतीमा महिला

४ बर्ष अगाडि

स्थानीयस्तरमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले झापाका महिला यतिबेला व्यावसायिक फूल खेतीमा लागेका छन् । 

दीपावलीलाई लक्षित गरेर महिला समूह यतिबेला सयपत्री फूलको बेर्ना सार्ने कार्यमा व्यस्त देखिन्छन् । दीपावलीको समयमा सयपत्री फूलको माग धेरै हुने भएकाले भारतीय बजारबाट आयात हुने फूलको मालालाई न्यूनीकरण गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले महिलाको सक्रियता बढेको महिला उद्यमी सङ्घ नेपाल झापाकी अध्यक्ष गोमा भट्टराईले बताउनुभयो । यतिबेला सारेको बेर्नाबाट दीपावलीको समयमा फूल टिप्न सकिने गरी तयारी हुने भएकाले पनि बेर्ना सार्ने काममा सक्रियता बढेको भट्टराईको भनाइ छ । 

तीन वर्षदेखि लगातार सयपत्री फूलको उत्पादन गरिरहेका महिला उद्यमी सङ्घ झापाका महिलाले यस वर्ष विर्तामोडमा एक बिगाहा पाँच कट्ठा जमीन ठेक्कामा लिएर बेर्ना सार्ने काम गरिरहेका छन् । पहिलो वर्ष दुई कट्ठामा गरिएको फूल खेतीबाट हौसला मिलेकोले दोस्रो वर्षदेखि क्षेत्रफल बढाएर काम गर्न थालिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभएको छ । पाँच कट्ठा जमीनमा राखिएको करीब ९० हजार फूलका बिरुवा मोरङको उर्लाबारी, झापाको दमक, सुरुङ्गा, विर्तामोड, धुलाबारी, शनिश्चरे, चन्द्रगढी लगायतका स्थानमा लगेर त्यहाँका विभिन्न समूहमार्फत रोपिएको बताइएको छ ।  

राम्रोसँगले फुल्दा एउटा बोटबाट दश वटासम्म माला बन्न सक्ने गरी फूल उत्पादन हुने सङ्घका जिल्ला महासचिव नैनकला भट्टराईले बताउनुभयो । फूलको मौसममा व्यापारीले एउटा माला बराबर न्यूनतम रु ५० का दरले बारीमै आएर  फूल उठाउने भएकाले बजारको कुनै समस्या नहुने महासचिव भट्टराईले जानकारी दिनुभयो । आफ्नै लगानीमा गरिएको सयपत्री फूलको खेतीमा लागेका महिलाहरु सबै सामाजिक अभियन्ता साथै व्यवसायी पनि भएकाले आर्थिक लाभको उद्देश्य नराखी, काम गर्दा उपलब्धि हुने रहेछ भन्ने समाजमा सकारात्मक सन्देश दिन खोजिएको महासचिव भट्टराईले बताउनुभयो । दीपावलीमा मात्र नभएर जुनसुकै समयमा पनि हुने विभिन्न गोष्ठी, सेमिनार लगायतका कार्यक्रममा फूलको मालाको आवश्यक पर्ने भएकाले पछिल्लो समय सयपत्री फूलको महत्व अझै बढेर गएको पाइएको छ ।

झापाको कनकाई नगरमा नेपाल महिला चेम्बर कनकाई नगर समितिको अगुवाइमा १२ कट्ठा जमीनमा सयपत्री पूmलको बेर्ना सार्ने काम पूरा भएको बताइएको छ । स्थानीयस्तरको अग्र्यानिक फूलको उत्पादनलाई प्राथमिकतामा राख्न सचेतना जगाउँदै पहिलो पटक फूल खेतीको अभ्यास गरिएको नेपाल महिला चेम्बर कनकाई नगर अध्यक्ष खिनमाया खतिवडाले बताउनुभयो । पmूलको सुन्दरताले गर्दा वातावरणसमेत स्वच्छ बन्ने भएकाले हरित नगरी निर्माणको अभियानमा समेत सहयोग पुग्ने विश्वास गरिएको महिला चेम्बर कनकाई नगर अध्यक्ष खतिवडाले जानकारी दिनुभएको छ । संस्थालाई आर्थिक रुपले पनि सम्पन्न बनाउनका लागि अभियान सञ्चालन गरिएको बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया