टनकपुर नाका खुलाउन ध्यानाकर्षण

४ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेशको एक टोलीले आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर कञ्चनपुरको ब्रम्हदेवस्थित टनकपुर नाका खुलाउन र दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको पक्रिया अगाडि बढाउनलगायतका माग राखेर ध्यानाकर्षण गराएको छ ।
    
सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराको नेतृत्वको टोलीले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालय पुगेर भारतका सीमा जोडिएका जिल्लाका समस्याबारे अवगत गराएको हो । विदेशमन्त्री जयशङ्कर आगामी भदौ ४ गते नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

टोलीमा सहभागी कञ्चनपुर क्षेत्र नं ३ का सांसद दीपकप्रकाश भट्टले ब्रम्हदेबदेखि महेन्द्रनगर बजारसम्म दुई लेनको टनकपुर लिङ्क रोड कालोपत्र भइसकेको र वर्षौदेखि भारतीय स्वामित्वमा रहेको पुल बन्द अवस्थामा रहेकाले खुलाउन पहलका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गरिएको बताउनुभयो ।
    
यस्तै उहाँले कञ्चनपुरको बेलौरी र कैलालीको खक्रौला नाका खुलाउनसमेत मन्त्रीको ध्यानाकर्षण गरिएको जानकारी दिनुभयो । बैतडीका सांसद दामोदर भण्डारीले डडेल्धुराको भित्रिमधेसको महाकाली नदीमा पुल निर्माणका लागि भारतीय विदेशमन्त्रीको ध्यानाकर्षण गराउनमन्त्री ज्ञवालीलाई आग्रह गरिएको बताउनुभयो ।

उहाँका अनुसार बैतडीको झुलाघाट र तल्लो सोराडमा महाकाली नदीमा पुलका लागि मन्त्री ज्ञवालीको ध्यानाकर्षण गरिएको छ । टोलीले चीनसँग जोडिएको दार्चुलाको तिङ्कर नाका खुलाउनसमेत माग गरिएको छ । 
    
भेटका क्रममा मन्त्री ज्ञवालीले सुदूरपश्चिमका सीमा सरोकारका विषयमा दुई देशका अधिकारीबीच हुने बैठकमा राखिने आश्वासन दिएको सांसद भट्टले जानकारी दिनुभयो । महाकाली नदीमा दुवै देशको स्वामित्व बराबर हुन नसक्दा उपयोगमा समस्या आइरहेकाले सो विषयमा आगामी द्विपक्षिय बैठकमा यसबारे कुरा उठाइने मन्त्री ज्ञवालीले प्रतिबद्धता जनाउनुभएको छ ।
    
टोलीमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बोहरा, सांसद भट्ट, भण्डारी, नेपाल कम्युनिष्ट पार्टी९नेकपा० कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापा, पूर्व सांसद कृपाराम राना, पुरन दयाल, प्रदेशसभा सदस्य लीलाधर भट्टलगायत सहभागी हुनुहुन्थ्यो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया