अज्ञात रोगले भैँसी मर्न थालेपछि...

४ बर्ष अगाडि

अज्ञात रोगका कारण भैँसी मर्न थालेपछि पशुपालक किसान चिन्तित बनेका छन् । 

नवलपरासीको कावासोती नगरपालिका– १०,  मगरकोटका पशुपालक कृषक सुमित्रा तिमिल्सिनाको चार वटा भैँसी चार दिनको अन्तरालमा मरेपछि कावासोती क्षेत्रका पशुपालक कृषक चिन्तित बनेका हुन् । घाँस, दाना सामान्यरुपमा खाइरहेका भैँसी एकाएक मर्न थालेपछि अन्य भैँसीमा पनि क्षति हुने हो कि भन्ने चिन्ता लागेको पशुपालक कृषक सुमित्रा तिमिल्सिनाले बताउनुभयो  । बुधबार मात्र बिहान र बेलुका गरी दुई वटा भैँसी मरेका थिए । भैँसीमा कुनै लक्षण नदेखिने र एक्कासी मर्ने गरेको उहाँले बताउनुभयो । उहाँका गोठमा साना ठूला गरि ३७ वटा भैँसी छन् । पिठौली क्षेत्रमा पशुपालक कृषक धेरै छन् । यस क्षेत्र दूधको पकेट क्षेत्रका रुपमा समेत चिनिन्छ । 

एकैछिन झोक्राउने र मरिहाल्ने गरेको तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार उहाँको गोठदेखि नजिकै रहेको रामबहादुर खड्काको गोठमा एक साताअघि एउटा पाडो पनि मरेको थियो । छिमेकीको पाडोसमेत कुनै लक्षण नदेखिकन मरेको थियो । 

‘फुड प्वाइजन’ भएको हो कि भनेर सामान्य औषधि चलाएको भए पनि त्यसले केही नभएको कृषक तिमिल्सिनाले बताउनुभयो । उहाँले पशुसँगै मानिसमा पनि केही हुने हो कि भन्ने चिन्ता लागेको उहाँले बताउनुभयो । 

भैँसीमा कुनै रोगको सङ्क्रमण भएको हो कि के भएको अझै पत्ता लाग्न सकेको छैन । दक्ष पशु प्राविधिकको अभाव हुँदा समस्या झनै ठूलो बन्ने हो कि भन्ने चिन्ता पशुपालक किसानमा छाएको छ । पछिल्लो समय कावासोती क्षेत्रमा पशुपालक गर्ने कृषकको सङ्ख्या बढेको छ । 

भँैसी मर्ने कारण पत्ता लाग्न नसकेको पशु सेवा उपशाखा कावासोतीका पशु विकास अधिकृत टेकराज पौडेलले बताउनुभयो । कुनै त्यस्तो लक्षण पनि नदेखिएकाले कुन रोगले मरेको भन्नसक्ने अवस्था नभएको उहाँले बताउनुभयो । मरेका भैँसीको रगत र केही भित्री अङ्ग परीक्षणका लागि पोखरा प्रयोगशाला पठाइएको पशु विकास अधिकृत पौडेलले बताउनुभयो । प्रयोगशालाको नतिजा शुक्रबार मात्र आउने उहाँले बताउनुभयो । मरेकासहित अन्य शङ्कास्पद छ वटा भैँसीकोसमेत नमूना परीक्षणका लागि पोखरा पठाइएको छ । नमूनाको नतिजा आएपछि मात्र अन्य भैँसीमा उपचार गर्न सकिने उहाँले बताउनुभयो ।

पशुपालक कृषक नवलपुरमा धेरै रहेको भए पनि पशुमा कुनै समस्या आउँदा समयमा परीक्षणका लागि भने समस्या भएको छ । सरकारी पशु प्रयोगशाला नहँुदा निदान र उपचारमा ढिलाइ हुने गरेको उहाँले बताउनुभयो । प्राविधिकको अभाव नभएको तर प्रयोगशाला नहुँदा समस्या भएको अधिकृत पौडेलले बताउनुभयो । नवलपुर क्षेत्रका पशुमा केही समस्या भए परीक्षण गर्ने नजिकको प्रयोगशाला पोखरा भएको हुँदा लैजानसमेत समय लाग्ने गरेको उहाँले बताउनुभयो । 

४ बर्ष अगाडि

प्रतिक्रिया