पुनर्योगबाट ८६२ को नतिजा परिवर्तन

४ बर्ष अगाडि

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले पुनर्याेग (रिटोटलिङ)को नतिजा सार्वजनिक गरेको छ । गत असारमा सार्वजनिक गरिएको नतिजाप्रति चित्त नबुझाउँदै आठ हजार २४ परीक्षार्थीले पुनर्याेगका लागि आवेदन दिएका थिए । तीमध्ये ८६२ जनाको नतिजा परिवर्तन भई उनीहरूको ग्रेड वृद्धि भएको छ । 
सबैभन्दा बढी गणित विषयमा पुनर्याेगका लागि निवेदन परेको थियो । पनिकाका अनुसार गणित विषयमा २६ जना परीक्षार्थीको ग्रेड वृद्धि भई ए प्लस प्राप्त गर्न सफल भएका छन् । नतिजा परिवर्तन हुनुमा परीक्षा व्यवस्थापन र उत्तरपुस्तिका परीक्षणमा संलग्नहरूका साथै परीक्षार्थीको पनि लापरबाही हुने गरेको पाइन्छ । यस पटक गणित विषयका परीक्षकले प्राप्ताङ्क जोड्दा नै गल्ती गरेको भेटिएको छ । 
परीक्षा नियन्त्रक रामराज खकुरेलले गणित विषयका परीक्षकले नै प्राप्ताङ्क जोड्दा गल्ती गरेको घटनाप्रति आफूहरू निकै गम्भीर बनेको बताउँदै थप्नुभयो, “यो उनीहरूको चरम लापरबाही हो । उनीहरूलाई कारबाही गर्ने निर्णयमा पुगेका छौँ । ” 
उहाँका अनुसार यस्ता परीक्षकहरू थुप्रै छन् । उनीहरूलाई यस पटक लिखितरूपमा सचेत गराइने र आगामी पटक पनि उनीहरूको लापरबाही नरोकिएमा कालोसूचीमा राखिनेछ । उहाँले भन्नुभयो, “यस्ता शिक्षकलाई एसईईका साथै कक्षा ११ र १२ को समेत उत्तरपुस्तिका परीक्षण गर्न प्रतिबन्ध लगाइनेछ । ” 
उहाँका अनुसार कतिपय परीक्षार्थीहरूले ई ग्रेड प्राप्त गरेका थिए र पुनर्याेगपछि उनीहरूको नतिजा ह्वात्तै बढेर ए प्लस भएको छ । उत्तरपुस्तिका परीक्षण गर्नेहरूले प्राप्ताङ्क चढाउँदा गल्ती गरे नगरेको बारेमा पुनः हेर्न सम्परीक्षकको व्यवस्था रहन्छ तर सम्परीक्षकको समेत लापरबाही पुष्टि भएको छ । परीक्षा नियन्त्रक खकुरेलले परीक्षकले परीक्षणपछि अङ्क चढाउँदाबाहेक कोडिङ, डिकोडिङ, पोस्टिङ गर्दा पनि प्राप्ताङ्क गणनामा समस्या देखिएको बताउनुभयो । गाेरखापत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया