अदालतबाट ६९  प्रतिशत मुद्दा फछ्र्योट

४ बर्ष अगाडि

मोरङ जिल्ला अदालतमा ६९ दशमलव ११ प्रतिशत मुद्दा फछ्र्योट भएको छ  ।

आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएको छ हजार ५८१ मुद्दामध्ये चार हजार ५४८ फछ्र्योट भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो । फछ्र्योट हुन बाँकी रहेका दुई हजार ३३ मुद्दाको लगत चालू आर्थिक वर्षमा सरेको उहाँले बताउनुभयो । 

गत आर्थिक वर्षमा दुनियाँवादी देवानी तथा पारिवारिक विवादमा विवाहसम्बन्धी दर्ता भएका ५९ मुद्दामध्ये ३०, अंशवण्डका एक हजार ४०० मुद्दाममध्ये ९३५, अपुतालीका १५ मुद्दामध्ये १३ र सम्पत्तिसम्बन्धी एक हजार ७१० मुद्दामध्ये एक हजार १५८ फछ्र्योट भएको थियो । यसैगरी, सोही अवधिमा करार तथा अन्य दायित्वका ५२ मुद्दामध्ये ३८, विविध देवानीका २८ मुद्दामध्ये १३, विवाहसम्बन्धी कसुरअन्तर्गत ३४ मुद्दामध्ये २७ मुद्दा फछ्र्योट भएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

यस्तै सो अवधिमा ज्यानसम्बन्धी कसुरका १२९ मध्ये ७७, कुटपिट वा अङ्गभङ्गसम्बन्धी कसूरअन्तर्गत पाँचमध्ये एक, अपहरणसम्बन्धी कसुरअन्तर्गत छ मध्य एक, जबर्जस्ती कारणीका ५० मध्ये ३०, हाडनाता करणीका पाँचमध्ये तीन, जबर्जस्ती करणी उद्योगका ८३ मध्ये ४६, चोरी तथा डाँका कसूरका ९० मध्ये ७१, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरअन्तर्गतका ४२५ मध्ये २६८, मानव बेचबिखनसम्बन्धी नौमध्ये दुई मुद्दाको फछ्र्योट भएको जिल्ला अदालतले जनाएको छ । 

यसैगरी लागुऔषध कसूरअन्तर्गतका २५२ मध्ये २१०, चन्दासम्बन्धी कसूरका तीन मध्ये एक, सवारी ज्यान वा अङ्गभङ्ग वा घाइते भएको कसुरका १९४ मध्ये १४७, जुवासम्बन्धी कसूरका नौ मध्ये नौ, वनस्पतिसम्बन्धी कसूरका तीन मध्ये एक, राजश्वसम्बन्धी नौ मध्ये छ, वन्यजन्तुसम्बन्धी कसूरका चारमध्ये एक, विदेशी विनियमसम्बन्धी सात मध्ये सात, साइवर अपराधका एक मध्ये एक, आगो लगाएको कसूरका पाँच मध्ये पाँच तथा अदालतको अपहेलनातका १८ मध्ये १० मुद्दा सो अवधिमा फछ्र्योट भएको अदालतले जनाएको छ ।

साथै, सो अवधिमा अदालतले रु सात करोड ७५ लाख ४५ हजार १७६ जरिवना असुल गरी दुई हजार ३८८ वर्ष १० महीना पाँच दिन कैद भुक्तान गरेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया