चलचित्र नचल्नुमा नम्रताले दिईन् निर्माण पक्षलाई दोष

४ बर्ष अगाडि

नायिका नम्रता श्रेष्ठले चलचित्र नचल्नुमा निर्माण पक्षलाई दोष दिएकी छिन् । चलचित्रको निर्माणनै फितलो भइदिँदा यस्तो समस्या आएको उनको बुझाई छ । पछिल्लो समय एकपछि अर्को चलचित्र फल्प हुनुको कारण निर्माण पक्ष रहेको नम्रताले बताइन् । 

“चलचित्र निर्माण गर्ने युनिट बलियो भयो भने यस्तो समस्या आउदैन”—पोखरामा चलचित्र पत्रकार संघ कास्कीले गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नम्रताले भनिन् । नम्रताका अनुसार अहिले कतिपय चलचित्र रिसर्चबिना बनिरहेकाछन् । दर्शकले चाहेको जस्तो चलचित्र निर्माण नभएको उनले बताइन् । भदौ ६ गते शुक्रबारबाट अलनेपाल रिलिज हुँदै गरेको नम्रता मुख्यअभिनित चलचित्र जाइराको प्रचारप्रसारका लागि पोखरा आएकी उनले आफ्नो फिल्म भने दर्शकको चाहनाअनुसारको रहेको दाबी गरिन् । मिक्स मार्सलआर्ट भूमिकामा नारी प्रदान कथामा आधारित चलचित्रमा महिलाको आरोह—अवरोहलाई प्रस्तुत गरिएको उनले बताइन् । 

यो चलचित्रका लागि नम्रताले ८ महिनाको मार्सलआर्ट तालिम समेत लिएकी छिन् । अर्थात यो भन्न सकिन्छ चलचित्र जाइरामा नम्रता मार्सलआर्ट खेल्ने केटीको भूमिकामा देखा परेकी छिन् । “जाइराको सुरुमा उनलाई अफर आउँदा सक्दिन कि जस्तो लागेको थियो । निर्देशक आशुतोषराज श्रेष्ठले मेरै लागि चलचित्रको कथा तयार पारेका रहेछन् । कथाको स्क्रिप्ट पढदै जाँदा मन पर्यो अनि तयार भए”—उनले भनिन् । साथीहरुबाट एक्शन चलचित्र नगरेहुन्छ भन्ने प्रतिक्रिया आउँदा पनि नम्रता पछि हटिनन् । जाइरामा नम्रता लिडरोलमा छिन् । 

अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सुजता श्रेष्ठ र सम्राट मगर लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सम्राट नम्रताको गुरुको रुपमा प्रस्तुत भएका छन् । 
नम्रतालाई मार्सलआर्ट सँगै फिटनेस बनाउने भुमिकामा उनी छन् । आफु प्रोफसनल लाइफमा पनि फिटनेस ट्रेनर भएकाले चलचित्रमा अभिनय गर्न सरल भएको सम्राटले बताए । “मेरो रियल लाइफ क्यारेक्टरलाई चलचित्रमा प्रस्तुत गरिएको छ” —उनले भने । नम्रतालाई चलचित्रका लागि ट्रेनिङ गराउँदा सुरुमा साह्रै गाह्रो भएको किस्सा उनले सुनाए ।

 “महिलालाई फिटनेस ट्रेनिङ गराउन साह्रै गाह्रो हुनेरहेछ”, उनले भने, “सुरुमा मलाई लागेको थिएन नम्रताले गर्न सक्लिन भनेर तर पछि उनमा निखारपन आउँदै गयो ।” 
चलचित्रमा नम्रताको भुमिका प्रशंसा गर्ने लायक रहेको उनको भनाई थियो । चलचित्र हेरेर मात्र प्रतिक्रिया दिन उनले दर्शकलाई आग्रह गरे । कलाकार प्रमोद अग्रहरीले जाइरामा आफ्नो नेगेटिभ भुमिका रहेको बताए । आफुले चलचित्रमा निर्देशकको इमेज अनुसारको काम गरेको उनले सुनाए ।

४ बर्ष अगाडि

प्रतिक्रिया