यतिसम्म पूरातनवादी रहेछन् हाम्रा प्रधानमन्त्री

४ बर्ष अगाडि

काठमाडौँ – माक्र्सवादमा विश्वास गर्नेले धर्म कर्ममा समेत विश्वास गर्दैनन् । त्यसो त देश समेत धर्मनिरपेक्ष रहेको छ । यस्तो अवस्थामा सबै धर्मलाई समेत राज्यले समान हैसियत प्रदान गरेको छ । धर्मलाई माक्र्सवादले अफिमको रुपमा हेरेको तथा लिने गरेको छ । तर नेपालका कार्यकारी प्रमुखले पूरातन मान्यतालाई आफ्नो जीवन व्यवहारमा लागू गरेर जग हसाउने काम गरेका छन् । 

गत शनिबार स्वास्थ्य उपचारको बाहनामा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर यात्रामा निस्के । रोग के हो, कुन रोगको उपचारमा गएको हो भन्ने बारेमा समेत न त उनले जाँदा आम नेपाली जनतालाई जानकारी दिए । नत जानकारी दिने प्रयास नै गरे । उनी सोमबार स्वदेश फर्के । स्वदेश फर्के लगत्तै पनि उनले कोही कसैलाई जानकारी दिन आवश्यक ठानेनन् । सञ्चार मन्त्रालय मातहतको सूचना विभागले पत्रकारलाई राम्रै उर्दी जारी गरेको थियो ।

सूचना विभागको कार्ड बोकेर औपचारिक पोशाकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउन जारी गरिएको उर्दी मुताबिक सरकारी र गैरसरकारी संस्थाका सञ्चारकर्मी विमानस्थल पुगेका थिए । प्रधानमन्त्रीले राम्रै स्कूप देलान भन्ने आशामा विमानस्थल पुगेका पत्रकार प्रधानमन्त्रीको मुस्कानलाई लिएर मात्रै फर्के । उनले केही बोल्लान् भन्ने अपेक्षा समेत पूरा भएन । 

 उता एकथरी उनी स्वास्थ्य उपचारको बाहानामा भारतीय खुफिया एजेन्सीका मान्छे भेटन सिंगापुर पुगेको चर्चा काठमाडौँमा छ । तर उनले सिंगापुरमा भारतीय मान्छे भेटे भन्ने बारेमा हालसम्म केही खुलेको छैन । प्रधानमन्त्रीका सामान्य भन्दा सामान्य जानकारी पनि सामाजिक सञ्जालमा हालेर नूनको सोझो गर्ने प्रमुख सल्लाहकार विष्णु रिमाल समेत चुपचाप बसे । उनले कुनै पनि सार्वजनिक चासोका बारेमा कुनै जानकारी दिएनन् ।

प्रधानमन्त्रीलाई राती निन्द्रा नलागे कथा सुनाउने जिम्मेवारी समेत पाएका विष्णु रिमालको मौनता समेत रहस्यमय रहेको छ । सिंगापुरमा रह्ँदा प्रधानमन्त्रीले कुन अस्पतालमा कस्तो उपचार गरे भन्ने बारेमा समेत आम नेपाली जनताले समेत जानकारी पाएका छैनन् । खुफिया एजेन्सीका मान्छेसँँग कुन तहको कस्तो र कुन प्रयोजनाका लागि छलफल गरियो भन्ने बारेमा जानकारी राख्ने र दिने दायित्व सरकारको हो । राजनीतिक विश्लेषकहरु भन्छन् नेपाली जनताप्रति उत्तरदायी रहेका सरकार प्रमुखको व्यवहार नै गलत रहेको देखिन्छ । 

सरकार दुई तिहाइको छ । काम गर्ने शैली विगतको त्रिशंकु कालको भन्दा फरक छैन । प्रधानमन्त्री नै सरकारलाई सफल बनाउन लागिपरेको तथ्य आम रुपमा स्थापित भएको छ । तर सिंगापुरमा स्वास्थोपचारको नाममा पुगेर जुन खालको व्यवहार उनले देखाएका छन् , त्यो सरासर अराजनीतिक व्यवहार हो भन्दा फरक पर्दैन । प्रधानमन्त्री नजिकका कुनै पनि व्यक्ति वा निकायले प्रधानमन्त्रीको नौ दिने विदेश भ्रमणको बारेमा कुनै जानकारी नदिएर जनतालाई गुमराहमा राख्ने काम गरिएको छ । सरकार पारदर्शी रहेको, पारदर्शीतामा विश्वास राख्ने भाषण गर्छ, व्यवहार भने ठिक उल्टो गर्दै आएको छ ।

मन्त्रिपरिषद्का धेरै जसो निर्णयहरु लुकाउने गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकूलप्रसाद बाँस्कोटालाई त आम मान्छेले विगतका श्रीसशम्सेर राणाको कोटीमा राख्ने गरेका छन् । आम जनतालाई दिनुपर्ने सूचना लुकाउने र सार्वजनिक गर्नु नपर्ने सामान्य भन्दा सामान्य सूचना समेत सार्वजनिक गरेर जग हसाउने काम गरिएको छ । सरकारका काम कारवाही र गतिविधिले जनता दैनिक जसो निराश हुँदै गएका छन् । सरकार प्रमुखले नै महत्वपूर्ण सूचना लुकाउने काम गरेपछि अरुको विषयमा त झन् भन्नै परेन । राजनीतिक विश्लेषकहरु भन्छन् नागरिकलाई सूचना लुकाएर ओली नेतृत्वको सरकार काँग्रेसले भने जस्तो निरकुश बन्दै गएको छ ।

राम्रा काम प्रचार भएन, गरिएन भन्दै रोइलो गर्ने प्रवृत्ति पनि उत्तिकै हावी छ । सरकारले कुनै पनि काम राम्रो गर्न नसकेको र गर्ने प्रयत्न समेत नभएको आम नागरिकको गुनासो छ । स्वयम् नेकपाका नेता तथा कार्यकताले समेत त्यही खालको अभिव्यक्ति दिने गरेका छन् । सरकारको काम गराई र गर्ने शैलीलाई लिएर नेकपा भित्रै चरम असन्तुस्टि समेत सिर्जना भएको छ । नेकपाले राम्रो कार्यसम्पादन नभएका मन्त्रीलाई विदाई गर्ने तयारी गरेको बताएपनि त्यसतर्फ कुनै प्रयत्न भएको छैन ।रघुविर महासेठहरु दैनिक घुस र कूत उठाउन व्यस्त छन् । काम गर्न खोज्ने गोकर्ण विष्टहरुलाई हतोत्साही गरिएको छ । 

मातृका यादव, रघुविर महासेठ, प्रदीप ज्ञवाली, थममाया थापा, शक्तिबहादुर बस्नेत,बिना मगरलगायतको कार्यसम्पादन कमजोर रहेको छ । उनीहरु काम नाममा वरको सिन्को समेत पर नसारी दिन कटाउने र जग हसाउने काममा लागेका छन् । कमजोर कार्यसम्पादन भएका मन्त्रीलाई विदा गरेर योजना, कार्यक्रम तथा कायशैली अब्बल भएका नेकपाका नेता तथा कार्यकर्तालाई मन्त्री बनाउने माग पनि चर्कै रुपमा उठेको छ । तर किन र कुन स्वार्थले उनीहरुलाई हटाउन रोकेको छ त्यसका बारेमा कोही कसैले केही बताएका छैन ।

केपी ओली काम नगर्ने मन्त्रीलाई हटाउनुको साटो कार्यसम्पादन करार सम्झौता गरेर जग हसाउन उद्यत् रहेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्डलगायत केही शीर्ष नेताले कामचोर मन्त्रीलाई विदा गर्ने प्रयास नगरेका होइनन् । तर ओलीका नजिक रहेका भनिएका मन्त्रीहरु नै हट्ने भएपछि ओली मन्त्री हटाउनुको साटो उनीहरुसँग एक वर्षे कार्यसम्पादन करार सम्झौता गरेर दुनियाँलाई मूर्ख बनाइरहेको छन् । 

फेरी प्रसंग आयो सिंगापुर कै । केपी ओली स्वास्थ्योपचारको नाममा सिंगापुर गए । जानेबेलामा  उनको आउने मिति गत आइतबारको तय गरिएको थियो । स्वास्थ्य परिक्षणको रिपोर्ट नआएको भन्दै पुनः सोमबारलाई सारियो । आइतबार देश छाडेको नौ दिन भएको भन्दै उनी सो दिन स्वदेश फर्किएनन् । माक्र्सवाद स्वीकार गरेका प्रधानमन्त्री पूरातनवादी सोचलाई प्रश्रय दिँदै आइतबार स्वदेश फर्किएनन् । भनियो, स्वास्थ्य परिक्षणको रिपोर्ट आउन ढिला भयो । प्रधानमन्त्री आउने भन्दै सूचना विभागले पत्रकारलाई समाचार संकलनका लागि विमानस्थल बोलाएर फिर्ता ग¥यो । पुनः सोमबारलाई सारियो । जानकारी अनुसार ज्योतिषीले आइतबार आउन हुँदैन, अनिस्ट हुन्छ भनिएको थियो । एक उडन्ते ज्योतिषीले दिएको सल्लाहका आधारमा नौ दिनमा घर आउन हुँदैन भन्ने सुझावलाई आत्मसात् गर्दै प्रधानमन्त्री आइतबार स्वदेश नफर्केको चर्चा काठमाडौं र सिंहदरबारमा चल्ने गरेको छ । 

प्रधानमन्त्रीको सरकारी निवासका एक कर्मचारीका अनुसार प्रधानमन्त्रीलाई नौ दिनमा स्वदेश फर्कन हुन्न है भनेर एक ज्योतिषीले दिएको सुझावका आधारमा उनी आइतबार नआएका हुन् । यतिसम्मका पूरातनवादी प्रधानमन्त्रीले देशलाई कसरी अगाडि बढाउलान्, कसरी आफूलाई खरो रुपमा अगाडि बढाउलान् भन्नेमा आशंका पैदा भएको जानकारहरुको भनाइ छ । प्रधानमन्त्री कार्यालयका ती कर्मचारीका अनुसार प्रधानमन्त्रीका प्रेस सल्लाहकारलगायतका कर्मचारीलाई नौ दिनमा प्रधानमन्त्री स्वदेश फर्कन मिल्छ कि मिल्दैन भन्ने विषयमा खोज अनुसन्धान गर्न जिम्मा नै दिइएको थियो । तर सो विषयमा जिज्ञासा राख्न पटक पटक प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याललाई पटक पटक फोन सम्पर्क गर्दा समेत उनले फोन नै रेस्पोन्स गरेनन् । पटक पटक प्रयास गर्दा उनले फोन नउठाई म्यासेज पठाए र लेखे  म क्लासमा छु, कुरा गर्न सक्दिन । 

त्यसो त प्रधानमन्त्री जस्तो देशको कार्यकारी प्रमुखले सिंगापुरमा एक साता भन्दा बढी समय व्यतित गर्दा के कस्तो परिक्षण गरे । को कोसँग भेटवार्ता गरे । उनको कस्तो स्वास्थ्य परिक्षण गरियो, कुन चिकित्सकले परिक्षण गरे , रोग के हो, कुन प्रयोजन थियो, कुन कुन औषधी सिफारिश गरियो भन्ने बारेमा जानकारी दिनु जरुरी रहन्छ नै । कार्यकारी प्रमुखको स्वास्थ्यका बारेमा जानकारी पाउनु, चासो राख्नु आम नेपालीको अधिकार हो । नेपाली जनताको करमा चल्ने प्रधानमन्त्रीले नै सो विषयमा जानकारी दिनु आवश्यक रहन्छ । त्यो उनको कर्तव्य हो । तर विमानस्थलमा उनले मेरो स्वास्थ्यका बारेमा केही दिन भित्रै जानकारी पाइहाल्नु हुन्छ नी भनेर नेपाली जनतालाई मूर्ख बनाउने काम गरे ।

विगतमा गिरिजाप्रसाद कोइरालाले समेत आफ्ना हरेक विदेश भ्रमणको बारेमा जानकारी दिन्थे, नेकपा अध्यक्ष प्रचण्डले समेत आफ्ना विदेश भ्रमणका बारेमा जानकारी दिने गरेका छन् । केही दिन पहिले खाडी मुलुकको भ्रमणमा गएका उनले नितान्त पारिवारिक भ्रमण भएको बताएका छन् । तर कार्यकारी प्रमुखले नै विषयवस्तुलाई लुकाएर जुन खालको रवैया देखाए, त्यसले पारदर्शिता र खुल्ला समाजको अवधारणलाई नै च्यालेन्ज गरेको आम नागरिकको बुझाई रहेको छ 

४ बर्ष अगाडि

प्रतिक्रिया