काउटिन्हो बायर्न गए, अब नेमारको ट्रान्सफर के होला ?

४ बर्ष अगाडि

बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे काउटिन्हो एक सिजनको लोनमा जर्मन जाइन्ट बायर्न म्युनिख गएका छन् । बायर्नसँग लोनको समाप्तिमा काउटिन्होलाई स्थायी रुपमा आबद्ध गर्नपाउने विकल्प पनि छ ।

रोबेन र रिबेरीको सन्न्याससँगै बायर्न उनीहरुको स्थानमा उसमान डेम्बेले र लेरोय सानेलाई ल्याउन चाहन्थ्यो । तर, बायर्नले डेम्बेलेका लागि गरेको ७० मिलियन युरोको प्रस्ताव बार्साले अस्विकार गरेको थियो भने सिटी सानेका लागि कम्तिमा १४५ मिलियन युरोको अपेक्षा गरिरहेको छ ।

पहिलो रोजाइका दुवै खेलाडी ल्याउन नसकेपछि बायर्नले अट्याकिङ मिडफिल्डर काउटिन्होलाई भित्र्याएको हो । काउटिन्होले बायर्नमा ११ देखि १२ मिलियनको बीचमा तलब पाउनेछन् ।

नेमार ट्रान्सफरमा अन्योल
काउटिन्होलाई बार्साले जारी ट्रान्सफर मार्केटमा लोनमा पठाउनभन्दा पनि बेच्नै चाहेको थियो । अथवा पिएसजीबाट नेमारलाई ल्याउनका लागि साँट्न चाहेको थियो । इपिएलका आर्सनल, टोटेनह्यामलगायत थुप्रै क्लबले काउटिन्होलाई लोनमा आबद्ध गर्न चाहेका थिए । तर, बार्सा काउटिन्होलाई नेमारलाई भित्र्याउने अस्त्रका रुपमा प्रयोग गर्न चाहन्थ्यो ।

त्यसका लागि उसँग दुईवटामात्र विकल्प थिए – काउटिन्होलाई बेच्ने वा पिएसजीलाई केही पैसा थपेर नेमारको बदलामा साँट्ने । बार्सा आफ्नो योजनामा पूर्ण रुपमा असफल भयो । यसले नेमारको ट्रान्सफर अन्योलमा परेको छ ।

कउटिन्हो लोनमा गएर बार्साको तलब भार भने कम भयो । जसकारण नेमार आएको खण्डमा उसलाई केही हदसम्म सहज हुनसक्छ । तर, काउटिन्हो गएर उसलाई नेमार ल्याउन भने समस्या हुनसक्छ । नेमार विश्वको सबैभन्दा महंगा खेलाडी बन्दै २२२ मिलियन युरोमा २०१७ मा बार्साबाट पिएसजी गएका थिए । त्यतिबेला त महंगो मूल्य पाएर बार्सा मख्ख थियो तर, २ वर्षपछि त्यही महंगो मूल्य उसका लागि सबैभन्दा ठूलो तगारो बनेको छ ।

एफएफपीका कारण बार्साले नेमारका लागि सबै पैसा तिर्न सक्दैन । उसले फ्रेङ्की डि योङ र एन्टोइन ग्रिजम्यानलाई भित्र्याउन १९५ मिलियन युरो खर्चिसकेको छ । जसकारण एफएफपीले उसको हात बाँधिएको छ । पिएसजीले पनि यो अवस्था बुझेर नेमारका लागि २ खेलाडी र १०० मिलियन युरोको माग गरेको छ ।

बार्सा यसअघि नेमारलाई ल्याउन काउटिन्हो र इभान राकिटिच दिएर १०० मिलियन युरो पनि थप्न तयार थियो । तर, काउटिन्हो बायर्न गएसँगै बार्सा समस्यामा परेको हो । अब पिएसजी राकिटिचसँग डेम्बेलेको माग गर्नेछ । तर, डेम्बेले बार्सा छाड्न चाहँदैनन् भने बार्सा पनि सकेसम्म उनलाई नबेच्ने पक्षमा छ ।

तर, पिएसजीका स्पोर्टिङ डिरेक्टर लियोनार्दो डेम्बेलेका ठूला प्रशंसक हुन् । काउटिन्होलाई बेचेर बार्सा परिबन्धमा फँसेको छ । ऊ नेमारलाई ल्याउन चाहन्छ भने डेम्बेलेलाई पनि गुमाउन चाहँदैन । लियोनार्दो भने यही परिबन्धको फाइदा उठाउँदै डेम्बेलेलाई बार्साबाट फ्रान्स ल्याउन उद्दत छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया