तेह्रथुम पावरले १२ लाख कित्ता साधारण शेयर ल्याउँदै, विजुली बाल्ने तयारी

४ बर्ष अगाडि

काठमाडौं– तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको राजधानीमा सम्पन्न दोस्रो वार्षिक साधारणसभाले रु १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको छ ।

सभाले प्रस्ताव पारित गरेपछि कम्पनीलाई आईपीओ निष्कासन गर्न बाटो खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ४ करोड र सर्वसाधारणलाई रु ८ करोडको  आईपीओ निष्कासन गर्ने भएको हो ।

७० प्रतिशत प्रवद्र्धक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।भदौको पहिलो साता विद्युत नियमन आयोगमा आईपीओ निष्कासनको प्रस्ताव पेश गर्ने कम्पनीका प्रवन्ध सञ्चालक मोहन डाँगीले बताए ।

उनले आगामी कात्तिकसम्म आईपीओ निष्कासन गर्ने जानकारी दिए । नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने छ ।

कम्पनीले तेह्रथुममा ७.५ मेगावाटको खोरङ्गाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी कात्तिक १ गतेदेखि बिजुली उत्पादन गर्ने डाँगीले बताए ।

आयोजना अनुमानित लागत भन्दा रु तीन करोड ५० लाख कममा निर्माण सम्पन्न हुने भएको छ । आयोजनाको लागत रु १ अर्ब ३७ करोड रहेको छ ।

कम्पनीले आयोजना तल रहेको २ मेगावाटको खोरङ्गा ताङमाया खोला जलविद्युत आयोजना पनि बनाउने भएको छ । विद्युत खरिदबिक्री (पीपीए) का लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिइसकेको र प्रक्रियमा रहेको डाँगीले जानकारी दिए । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीले निर्धारित समयमा कोसी करिडोर प्रसारणलाइन बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।  

४ बर्ष अगाडि

प्रतिक्रिया