पूर्वराजा र विप्लवलाई गाली : पञ्चायतकालीन ‘अराष्ट्रिय तत्व’ जस्तै

४ बर्ष अगाडि

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र विद्रोही नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहलाई सरकार र यसका पक्षपातीले गर्ने आलोचना पञ्चायतकालीन शासकले ‘अराष्ट्रिय तत्व’ भनेर बच्ने प्रयास गरेजस्तै भएको राजनीतिक विश्लेषकहरूको धारणा छ।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल भन्नुहुन्छ– ‘राजनीतिमा हाउगुजी देखाएर अरूलाई तह लगाउने विधि नयाँ होइन, चाणक्य÷कौटिल्य कालमा पनि यस्तै गरिन्थ्यो, आज केपी ओली सरकारले पनि त्यसलाई निरन्तरता दिइरहेको छ।

तर, आजका जनता नेताभन्दा पनि सचेत भएकाले भ्रममा पर्दैैनन्, राजनीतिमा जब जनअपेक्षाअनुसार काम गर्न सकिन्न, तब काल्पनिक खलनायक खडा गरिन्छ।’

कीर्तिपुर मैत्री समाजका अध्यक्ष डा. नेत्र पौडेलको टिप्पणी पनि यस्तै छ, सरकारले जनताको भावना जित्न सकेको भए कसैलाई खलनायक बनाउनुपर्ने थिएन, आम नागरिक भगवान्ले साथ दिएन, काम बिग्रियो भन्छन्, हाम्रा नेताहरू चाहिँ ज्ञानेन्द्र, विप्लव आदिलाई देखाएर पानीमाथिको ओभानो हुन खोज्छन्।

‘हड्डी फुकेर राजसंस्था फर्कंदैन’ र ‘चलखेल गर्ने भए नागार्जुनबाट निस्क’ भनेर क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली र सत्ताधारी पार्टी नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिप्पणी गरेपछि यस प्रकारको प्रतिक्रिया आवश्यक थिएन भन्ने भनाइ चारैतिरबाट उठेको छ। ‘मृतक घोषित राजतन्त्रलाई ललकार्नु आफ्नै कमजोरी सावित गर्नु हो, यो आवश्यक थिएन।’ –राजनीतिक विश्लेषकहरूको भनाइ छ।

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजसंस्थाको वकालत गर्नेहरूको सडकमा चलखेल बढेको टिप्पणी गर्नुभयो। ‘ज्यूँदै फालेको राजसंस्था उल्टाउने सपना कसैले नदेखे हुन्छ।’ –उहाँले चेतावनी दिनुभयो। उहाँले चिहानमा गएर हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्नेहरूले बेमौसमी बाजा नबजाए हुन्छ भन्नुभयो। नेपाल समाचारपत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया