पर्यटन वर्षलाई सघाउन उपसमिति गठन

४ बर्ष अगाडि

गण्डकी प्रदेशले घोषणा गरेको पर्यटन वर्ष (सन् २०१९–२०२२) सफल पार्न जिल्लास्तरीय समन्वय उपसमिति गठन गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको उपस्थितिमा उपसमिति घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षतामा गठित उपसमितिको उपाध्यक्षमा जिससका उपप्रमुख विष्णुप्रसाद भुसाल रहनुभएको छ । पदेन सदस्यमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारी, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम रहनुभएको छ ।

यस्तै पर्यटन व्यवसायी राजु खड्का, महिला व्यवसायी ललिता थापा, सामाजिक संस्थाका तर्फबाट विद्यापति शर्मा र घरवास सञ्चालक मध्येबाट हिरा पुन सदस्यमा चयन हुनुभएको छ । उपसमितिले पर्यटन वर्षको कार्यक्रम सञ्चालनमा सहयोग तथा समन्वयको काम गर्नेछ । सो अवसरमा मन्त्री लम्सालले पर्यटन वर्ष सफल पार्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले जिल्लामा भएका पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण, प्रवद्र्धन, प्रचारप्रसारलगायतका काममा खट्न उपसमितिलाई निर्देशन दिनुभयो । 
 
उहाँले सन् २०२२ मा २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ प्रदेश सरकारले तयारी अघि बढाएको बताउनुभयो । गण्डकी प्रदेशले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाइरहेको छ । यस्तै, सन् २०२० लाई छिमेकी मुलुकका पर्यटक आकर्षण वर्ष, सन् २०२१ लाई पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तराष्ट्रिय पर्यटन वर्ष घोषणा गरेको छ । 

पर्यटन वर्षलाई सघाउन स्थानीय तहमा पनि स्थानीय उपसमिति गठन गरिने जिल्लास्तरीय समन्वय उपसमितिका उपाध्यक्ष भुसालले बताउनुभयो । यही भदौभित्रै जिल्लाका १० वटै स्थानीय तहमा उपसमिति बनाएर पर्यटन प्रवद्र्धनको काम अघि बढाइने उहाँको भनाइ छ । पर्यटन वर्ष सफल पार्न मन्त्री लम्सालको अध्यक्षतामा १५१ सदस्यीय मूल आयोजक समिति यसअघि नै गठन भइसकेको छ । समितिमा नीति तथा योजना आयोग, मन्त्रालयका सचिव, गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख, पर्यटन व्यवसायीलगायत छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया