भाेलीदेखि काठमाडाैंमा विद्युतीय बस चल्ने, अन्य बसभन्दा सस्ताे

४ बर्ष अगाडि

काठमाडौंमा भोलीदेखि विद्युतीय बस सञ्चालन हुने भएको छ ।  निजी क्षेत्रको सुन्दर यातायातले विद्युतीय बसबाट सार्वजनिक सेवा दिने भएको हो । 

तत्कालै ७ वटा बसमार्फत सेवा दिन लागेको सुन्दर यातायातले पहिलोचरणमा दुईवटा र भोलीदेखि सञ्चालन गर्ने जनाएको छ । 

दुईवटा बस तयारी अवस्थामा छन भने केही दिनभित्रै ५ वटा बस काठमाडौं आइपुग्दैछन् । 

सुन्दरले अहिले रिंगरोडको रुट पाएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रले पहिलोपटक सार्वजनिक यातायातको रुपमा विद्युतीय बस चलाउन लागेको हो । 

थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको अध्यक्ष थापाले बताए । 

यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याउन लागेको कम्पनीले प्रति बस एक करोड ६२ लाख मूल्य खर्चिएको थापाको भनाइ छ । 

चिनियाँ प्राविधिकलाई नेपालमै ल्याएर नेपाली सडकको अवस्था अध्ययन गराउँदै बसको डिजाइन गराएको कम्पनीले भित्र्याएका बस नेपालको सडक मैत्री रहेको दाबी गरेको छ । 

खाल्डाखुल्डीमा अगाडि नठोक्कियोस् भनेर नेपाल आउने बसलाई छुट्टै तवरले डिजाइन गरिएको र बसका पछाडिको भागलाई पनि खाल्डाखुल्डी युक्त सडकमा जान सकिने गरी बनाइएको थापाले बताए ।

विद्युतीय बस ४० सिट क्षमतासम्मका छन् । सुन्दर यातायातका ती बसमा यात्रा गर्नेले स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सक्ने र मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । 

डिजेल गाडीले जस्तो चर्को ध्वनी ननिकाल्ने र सञ्चालन खर्च पनि निकै सस्तो हुने कम्पनीको दावी छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया