एक अर्ब ८० करोडकाे अपर नौगाडकाे विद्युत् उत्पादन असाेजदेखि,

४ बर्ष अगाडि

दार्चुलाको नौगाड गाउँपलिकामा निर्माणाधीन आठ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले आगामी असोज पहिलो साताबाट विद्युत् उत्पादन गर्नेभएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेकाले असोज पहिलो साताभित्रै नियमित विद्युत् उत्पादन थाल्ने भएको हो ।     
     
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रबाट साढे आठ मेघावाटको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै विद्युत् उत्पादन गरेको अपि हाइड्रो पावरले माथिल्लो नौगाड जलविद्युत् आयोजनाको निर्माण पनि अन्तिम चरणमा पु¥याएको छ । यसअघि चैत्रभित्रै विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएकोमा साउन महिनाको बाढी र प्राविधिक कारणले निर्माण कार्यमा केही ढिलाइ हुन गएको आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले जानकारी दिए । 

रु एक अर्ब ८० करोड लागतमा माथिल्लो नौगाड निर्माण हुँदैछ । आठ मेगावाट विद्युत् थप भएसँगै सुदूरपश्चिममा भइरहेको विद्युत्को अनियमित कटौती पनि घट्ने विश्वास गरिएको छ । निजी क्षेत्र आकर्षित हुन नसकेको अवस्थामा प्रदेशमा अपि हाइड्रो पावर कम्पनीले एक आयोजना सम्पन्न गरेसँगै दोस्रो आयोजनाबाट विद्युत् उत्पादनको अन्तिम तयारी थालेको हो ।     
     
अहिले विद्युतको पावरहाउसमा इलेक्ट्रोनिक मेकानिकल जडान तथा परीक्षणको काम भइरहेको कोइरालाले बताए । पावरहाउसमा चार÷चार मेगावाट क्षमताका दुइटा युनिट राखिएको आयोजनाले जनाएको छ। 
भारतबाट पावरहाउसको सामान ल्याएर जडान गरिएको छ । विसं २०७५ साउनको बाढीले निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति गरेका कारण आयोजनाको लागत र समय थप गरिएको उनको भनाइ छ। गत साउनमा आएको बाढीले मात्रै आयोजनामा रु १० करोडको क्षति भएको थियो ।     
     
नौगाड–६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको पावरहाउसमा खसालिएको छ । पाइपलाइन (पेनस्टक)को लम्बाई पाँच किलोमिटर छ । विसं २०७३ असोजदेखि निर्माण शुरु गरिएको थियो । अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । यसका लागि नौ किलोमिटर लामो ३३ केभीए प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको आयोजना इन्चार्ज कोइरालाले बताए ।      
     
 

४ बर्ष अगाडि

प्रतिक्रिया