आजदेखि काठमाडौंमा ‘बिजुली बस’, डिजेलबाट चल्ने बस भन्दा सस्तो

४ बर्ष अगाडि

उपत्यकामा आजदेखि सार्वजनिक यातायातको रुपमा विद्युतीय बस सञ्चालनमा आएको छ । निजी क्षेत्रको कम्पनी सुन्दर यातायातले आजबाट सर्वसाधारणका लागि विद्युतीय बस सेवा शुरु गरेको हो । 

अहिलेका लागि रिङ्गरोडको रुट पाएको यातायातले दुईवटा विद्युतीय बसकाट सेवा शुरु गरेको हो।  केही दिनभित्रै थप २ वटा बस ल्याउने र योवर्षभित्र २५ वटा बस चलाउने योजना बनाएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । त्यसका लागि कम्पनीले ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ ।

चिनियाँ प्राविधिकलाई नेपालमै ल्याएर नेपाली सडकको अवस्था अनुसार खाल्डाखुल्डीमा पनि चल्न सक्ने गरी डिजाइन गरेका बसहरु ल्याइएको थापाले बताए । बस ४० सिट क्षमतासम्मका विद्युतीय बसहरु उपत्यकामा चक्रपथसहितका शहरभित्रका धेरै रुटहरुमा चलाइने कम्पनीले बताएको छ ।

विद्युतीय बसमा यात्रा गर्ने यात्रुले नगदका साथै स्मार्ट कार्ड, ई-सेवा, प्रभु पे, खल्ती, आईएमई पेमेन्ट गेट वे मार्फत भाडा बुझाउन सकिने र मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यात्रा कार्ड लिएर यात्रा गर्दा २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए । 

यात्रुले यो बसमा यात्रा गर्दा नगद भाडाका लागि सहचालकलाई नोट दिने र उक्त नोट बराबर सहचालकले दिएको सिक्का बक्समा राख्नुपर्ने छ । 

स्मार्ट डस्टबिन, एयर कन्डिसनर लगायतको सुविधा रहेका विद्युतीय बस वातावरणमैत्री छन् ।

बसको मूल्य डिजेलबाट चल्ने बसको भन्दा चारगुणा महंगो परेपनि सञ्चालन खर्च पनि निकै सस्तो रहेको बताइएको छ ।  डिजेलबाट चल्ने लामो प्रकारका गाडीहरुले प्रति ३ देखि ५ किलोमिटर दूरी पार गर्दा १२० रुपैयाँ खर्च गर्नेमा विद्युतीय बसको सञ्चालन खर्च  प्रत्येक ५ किलोमिटरमा २० रुपैयाँ मात्रै पर्ने कम्पनीको भनाइ छ ।

विद्युतीय बसको पाँच रुटहरूमा चक्रपथ परिक्रमा, नारायणथान-जावलाखेल-मेडिसिटी अस्पताल, गोंगबु-सामाखुसी-गौशाला-कोटेश्वर-सल्लाघारी, ढुंगेअड्डा-कलंकी-त्रिपुरेश्वर-वीर अस्पताल-जमल-कृष्णपाउरोटी-रातोपुल-गौशाला-चाबहिल-बौद्ध-अत्तरखेल र सूर्यविनायक-कोटेश्वर-बानेश्वर-वीर अस्पताल-जमलसम्म रहेका छन् ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया