नेपाल प्रहरीले काठमाणडौंमा तीनवटा अत्याधुनिक बहुउद्देश्यीय भवनहरु निर्माण गर्ने भएको छ । महानगरीय अपराध महाशाखाका लागि टेकुमा, महानगरीय प्रहरी परिसरका लागि भद्रकालीमा र नेपाल पुलिस क्लवका लागि भृकुटीमण्डपमा अत्याधुनिक भवन निर्माण गर्ने भएको हो । २०७२ को ‘गोरखा भूकम्प’ले हनुमानढोकामा रहेका भवनमा क्षती पुगेपछि अपराध महाशाखा र प्रहरी परिसर विस्थापित भएका थिए । त्यसपछि टेकुमा रहेको नेशनल ट्रेडिङको भवनमा सरेको परिसर र टेकुमै पार्टी प्लालेसमा सरेको अपराध महाशाखाले चार वर्ष निकै अस्तव्यस्थ कार्यालयबाट जनतालाई सेवा दिएका थिए ।
चारवर्षपछि सरकारले टेकुमै ९ रोपनी जग्गा उपलब्ध गराएपछि महानगरीय अपराध महाशाखाको भवन बन्न लागेको हो । रु ३० करोड लागतमा बन्ने भवन ७५ हजार वर्गफिट क्षेत्रफलमा फैलने नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्देशनालयले जनाएको छ ।
अस्थायीरूपमा बस्दै आएको महाशाखामा अहिले थुनुवा कक्ष नै छैन भने प्रहरी कर्मचारी नै एउटै कोठामा बसेर विभिन्न विभागको काम सम्हाल्नुपर्ने अवस्था छ ।
वर्तमान आवश्यकतालाई ध्यान दिँदै अपराध अनुसारको हिरासत कक्षसहित आधुनिक प्रविधियुक्त हुनेछ । कसुरअनुरुपको हिरासत कक्षको व्यवस्थाको साथै सेवाग्राहीमैत्री संरचना निर्माण हुने उक्त भवनमा हत्या, चोरी, विशिष्ट व्यक्ति तथा अन्य कसुरमा फरक–फरक कक्षहरु राखिनेछ । महाशाखाका १५० जना थुनुवा राख्न मिल्ने गरी भवन बन्दैछ ।
त्यस्तै महानगरीय प्रहरी परिसर नेपाल सरकारबाट प्राप्त १५ रोपनी जग्गामा निर्माण हुने छ । रु ६५ करोडको लागतमा निर्माण हुनलागेको कार्यालयको भौतिक संरचनाले १ लाख ६५ हजार वर्गफिट क्षेत्रफल ओगटने छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको भवन आधुनिक साथै सुविधायुक्त हुने बताइएको छ । कार्यालयको कार्यप्रकृति बमोजिम कार्यालय, ब्यारेक, मिटिङ हल, व्यायाम हल, मेश र बाथरुम आदिको व्यवस्थापन गरिने भवनहरुमा सेवाग्राहीले सहजताका साथ सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले आवश्यक संख्यामा कार्यालय कक्ष, प्रतिक्षालय, चमेनागृह र खुल्ला स्थानको उत्तम एवं सुरक्षित प्रबन्ध गरिने प्रहरीले जनाएको छ ।
दुवै संरचनाहरुमा भूकम्प प्रतिरोधात्मक, अपाङ्गमैत्री, महिलामैत्री, वातावरणमैत्री हुनुको साथै वेसमेन्ट पार्किङको समेत व्यवस्था हुने जनाइएको छ। परिसरमा ३०० जना थुनुवा राख्न मिल्ने गरी भवन बन्दैछ ।
भृकृटी मण्डपमा रहेको आफ्नै २६ रोपनी जग्गामा निर्माण हुने नेपाल पुलिस क्लवको भवनले ६० हजार वर्गफिट क्षेत्रफल ओगटने छ । यसको लागत भने रु ३५ करोडको रहेको निर्देशनालयका प्रहरी उपरीक्षक रामकुमार चौधरीले जानकारी दिए ।
पुलिस क्लवको बहुउद्देश्यीय भवनमा अत्याधुनिक सुविधा सहितको ७५० जना क्षमताको अडिटोरियम हल, गेम हलसहितको भवन बन्नेछ । अन्य २ वटा कन्फ्रेन्स हल तथा वेसमेन्ट पार्किङको व्यवस्था गरिनेछ। भवन अत्याधुनिक प्रविधि अनुरुप डिजाइन गरिएको छ ।
तीनवटै भवनकाे आज शिलान्यास गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकारबाट जग्गा प्राप्ती हुनु आफैंमा उपलब्धी भएको चर्चा गर्दै सबै भवनहरु पारदर्शी रुपमा काम हुने गरी निर्माण गरिने बताए।
विगत २५ वर्षदेखि धेरैको हृदयमा बस्न सफल पुलिस क्लवले आगामी दिनमा अपेक्षा अनुसारको विश्वसनीय सेवा प्रदान गर्ने विश्वास उनको विश्वास छ । तीन वटै संरचना २ वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ ।
प्रतिक्रिया