देउवालाई नेविसंघ नेताहरुको ७ दिने अल्टिमेटम, नभए आमरण अनशन बस्ने घोषणा

४ बर्ष अगाडि

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन् ।  

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यसतर्फ पार्टी नेतृत्वको ध्यानाकार्षण गराएका हुन् । समयमै महाधिवेशन सम्पन्न गरि सबै भातृ संस्थाहरुको निर्वाचनमार्फत नेतृत्व चयन गरि पार्टीलाई बलियो बनाउनुपर्ने  उनीहरुको जोड थियो । 

पार्टी सुधार गर्नुको सट्टा झारा टार्नको लागि दोस्रो जागरण अभियान शुरु गरि पार्टीका भ्रातृ संस्थाहरुलाई निष्कृय बनाएको उनीहरुको आरोप छ । 

कार्यक्रममा बोल्दै नेविसंघका पूर्व उपाध्यक्ष तथा युवा नेता क्षितिज भण्डारीले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारको अधिनायकवादी कदमको आफ्नो पार्टीले सशक्त विरोध गर्न नसकेको आरोप लगाए । उनले तत्कालिन पार्टी सभापति सुशिल कोइरालाको नेतृत्वदायी क्षमता र भूमिका वर्तमान सभापति शेरबहादुर देउवाले अनुशरण गर्नुपर्ने सुझाए । 

पार्टी नेतृत्वले ७ दिनभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला पक्षको सम्मानजनक उपस्थितिमा महाधिवेशन गर्ने केन्द्रिय समिति गठन नगरे ७७ वटै जिल्ला पार्टी कार्यालयमा आन्दोलन र केन्द्रिय कार्यालयमा आमरण अनशन गरिने पनि भण्डारीको चेतावनी थियो । त्यस्तै, उनले पार्टीको दोस्रो चरणको जागरण अभियान सकिएलगत्तै आमरण अनशन सुरु गर्ने पनि चेतावनी दिए । 

त्यस्तै, भण्डारीले वर्तमान पार्टी नेतृत्वले पार्टीका सच्चा नेता तथा कार्यकर्ताहरुलाई थाङ्नामा सुताउने काम गरेको अर्को गम्भिर आरोप लगाए । 
पूर्व केन्द्रिय सदस्य मोती भण्डारीले भातृ संगठनलाई कोमामा राखेर पार्टी जागरण अभियानमा होमिएको चित्रण गरे । 
नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा पार्टी महाधिवेशन प्रतिनिधि लिलाबल्लभ दाहाल ‘काका’ ले वर्तमान पार्टी नेतृत्व ईतिहासमै कमजोर भएर गिरेको आरोप लगाएका छन् । उनले पार्टी अहिले प्रतिपक्षमा हुँदापनि भूमिकाविहीन भएको टिप्पणी गरे । 

उनले पार्टी सभापति शेरबहादुर देउवाको मात्रै नभएर युवा नेताद्धय विश्वप्रकाश शर्मा र गगन थापा पनि निकम्मा भएको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरे । 

कार्यक्रममा नेविसंघका निवर्तमान कोषाध्यक्ष शिव रिमालले पनि पार्टी सभापति शेरबहादुर देउवाले सिंगो पार्टी हाँक्नको लागि असक्षम भएकोले तत्काल राजीनामा दिनुपर्ने माग गरे । उनले कांग्रेसजस्तो गौरवशाली लोकतान्त्रिक पार्टीभित्र नेविसंघलाई आन्तरिक लोकतन्त्र खोज्न बाध्य तुल्याईएकोमा गुनासो पोखे । 
रिमालले आन्तरिक लोकतन्त्र खोज्जनको लागि आफूहरु सभापति देउवाको निजी निवास घेर्नसमेत पछि नपर्ने चेतावनी दिए । 
कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रिय सदस्य लिखितेन्द्र श्रेष्ठले वर्तमान नेकपा नेतृत्वको कम्युनिष्ट सरकार लुट्न र देश डुबाउनमात्रै उद्धत रहेको आरोप लगाएका छन् । उनले यस्तो अवस्थामा पनि कांग्रेस चुप लागेर बस्दा नेता, कार्यकर्ता र जनतामा प्रशस्त आशंका र भ्रम पैदा भएको टिप्पणी गरे । 
नेविसंघकी निवर्तमान केन्द्रिय सदस्य प्रेमिका रानामगरले पार्टी नेतृत्वले जागरण अभियानको नाममा नौटंकी देखाईरहेको गुनासो पोखिन् । भातृ संगठनलाई चलायमान बनाउनको लागि वर्तमान पार्टी नेतृत्व असक्षम भएको पनि उनको आरोप छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया