१८ वर्षदेखि सडकमा माछा झुण्डाउँदै, मासिक ३० हजार कमाइ

४ बर्ष अगाडि

पृथ्वी राजमार्ग हुँदै चितवन र धादिङको सिमाना मौवाखोला नजिकै पुग्दा एकजना अर्धवैंशै सँधै माछा झुण्ड्याएर सडक किनारामा बसेको देखिन्छन् । 

कतिले गाडी रोकेर माछा किन्छन, कतिले फोटोमात्र खिचेर हिँड्छन् । यसरी माछा झुण्डाएर बस्ने व्यक्ति हुन धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोलाका नवराज खरेल ।     

खरेलले मौवाखोलामा डोरीमा उनेका माछा झुण्ड्याएर बेच्न थालेको १८ वर्ष भयो । राजधानी काठमाडौँ भित्रिने मुख्य सडक यस पृथ्वीराजमार्गमा दैनिक करीब १० हजारको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्छन् । उनका ग्राहक भनेका राजमार्गमा गुड्ने तिनै सवारी साधनका यात्रु हुन् । 
     
माछा बेचेर खरेलले कमाइ दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म कमाउँछन् । यही कमाइले उनले बुबा–आमा, श्रीमती र दुई छोरी गरी छ जना पाल्दै आएका छन् ।      

“अठार वर्षदेखि यही राजमार्गमा माछा बेचेरै घरको गर्जो टार्दै आएको छु, दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म कमाइ हुन्छ”, उनले भने । राजमार्गमा माछा बेचेरै घरखर्च टरेपछि उनले विदेश वा अरु विकल्पनि सोँचेका छैनन् ।

“अरुमा खासै सीप पनि छैन, गतिलो कमाइ हुने जागिर पाउँदैन,” उनले भने “विदेशपनि ऋण गरेर जानुपर्ने भएपछि यहि ठीक छ ।”     
माछा व्यापार गर्दा लगानी गर्न नपर्ने भएकोले उनी यसमै सन्तुष्ट छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया