गण्डकीमा सबैभन्दा धेरै भ्रष्टाचार हुने जिल्ला काँस्की, पर्वत र तनहुँ

४ बर्ष अगाडि

गण्डकी प्रदेशमा सबैभन्दा धेरै भ्रण्टाचार हुने जिल्लाको सूचिमा काँस्की पहिलो नम्बरमा परेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कायालय पोखरामा परेका उजुरीका आधारमा कास्की भ्रष्टाचार हुने पहिलो जिल्ला हो । 

गण्डकी प्रदेशको ११ जिल्लामध्ये दोश्रोमा पर्वत, तेस्रो तनहुँ भ्रष्टाचार धेरै हुने जिल्लाका रुपमा रहेका छन् । 

कास्कीमा मात्रै गत वर्ष ४२७ भ्रष्टाचारका उजुरी परेका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।

प्रदेशभरि कूल ८३२ उजुरी दर्ता भएकामा ५४५ उजुरी फछ्र्यौट भइसकेका आयोगले जनाएको छ ।  

ति जिल्लाहरुमा स्थानीय तहले नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरो–तेहोरो भुक्तानी र बिनाकाम भुक्तानी गर्ने, घर नक्सा तथा बाटो, अन्य सिफारिशमा अनियमितता गरेको, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता गरेको, जथाभावी भत्ता सुविधा लिने गरेको उजुरी कार्यालयमा परेका छन् ।     

सूचना अधिकारी रिजालका अनुसार उपभोक्ता समिति गठन प्रक्रियामा आफू अनुकूल व्यक्ति छनोट गरेको, सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको, राजश्व छली तथा नियमित बैंक दाखिला नगर्ने तथा योजना स्वार्थ प्रेरित तरिकाले फेर्ने गरेको उजुरी आयोगमा परेको छ । 

त्यस्तै भौतिक पूर्वाधारतर्फ आर्थिक वर्षको अन्त्यमा काम गर्ने, बढी सामान खरीद गर्ने, लागत स्टिमेट तयारीमा बदनियतपूर्ण तरिकाले गर्ने, नक्कली बिल भर्पाइ बनाई भुक्तानी दिने तथा ठेकेदार र प्राविधिकसँग अवाञ्छित गतिविधि गर्ने र हिस्सेदारी खोज्नेजस्ता विषयमा आयोगमा उजुरी परेको जनाइएको छ। शिक्षा, स्वास्थ्यतर्फ भवन निर्माण, शौचालय निर्माण, नक्कली प्रमाणपत्र, विद्यालयको जग्गा बेचबिखनलगायतका उजुरी आयोगमा परेका छन्।  

गण्डकीमा भ्रष्टाचारको सूचीमा चौथोमा स्याङ्जा, पाँचौ लमजुङ, छैठौँ बागलुङ, सातौँ म्याग्दी, आठौं गोरखा, नवौँ मुस्ताङ छन् । नवलपुरका उजुरी आयोगमा सबैभन्दा कम छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया