मूल नफुट्दा खेत बाँझै

४ बर्ष अगाडि

मूल फुट्ने गरी पानी नपर्दा तनहुँमा यस वर्ष धान उत्पादनमा कमी हुने देखिएको छ ।

वर्षाको पानीको भरमा रोपिने यहाँका अधिकांश खेत बाँझै रहेका कारण धान उत्पादनमा कमी आउने सङ्केत देखा परेको हो । कुलाको पानीले सिञ्चित हुने गैरी खेतमा रोपाइँ भए पनि प्रशस्त पानी परेर मूल नफुटेका कारण टारी खेत बाँझै रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मोहनप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । “मूल नफुट्दा वर्षे पानीको भरमा गरिने खेत बाँझै छन् । उहाँले भन्नुभयो, “खोला र नदीमा भने प्रशस्त पानी भएको कुलोबाट रोपिने खेतमा रोपाइँ भए पनि सिँचाइ सुविधा नभएको र आकाशे पानीको भरमा रोपिने खेत भने बाँझै छन् ।”

जिल्लाको शुक्लागण्डकी नगरपालिका–१ की उमा पन्थीले ज्यामिरेकोट र सुन्दरी गाउँलगायत स्थानका करीब चार हेक्टर जमीनमा धान रोपाइँ हुन नसकेको बताउनुभयो । राखिएको बीउ रोप्न नपाउँदा पहेँलो भएर काम नलाग्ने भएको उहाँको गुनासो थियो । त्यस क्षेत्रका करीब २०० रोपनी खेतमा रोपाइँ हुन नसक्दा बाँझै  छ,  उहाँले भन्नुभयो । समयमा वर्षा नभएका कारण यस वर्ष धान उत्पादनमा ह्रास आउन सक्ने देखिएको उक्त नगरपालिकाको कृषि शाखा प्रमुख नवराज पण्डितले बताउनुभयो । उहाँका अनुसार नगरपालिकामा यस वर्ष ९५ प्रतिशत जमीनमा रोपाइँ हुने अनुमान गरिएकामा करीब ८४ प्रतिशत जमीनमा मात्र रोपाइँ भएकाले धान उत्पादन घट्ने देखिएको छ । 

धान रोपिएका टारी खेतमा पानी कम परेकाले बाली फष्टाउनसमेत सकेको  छैन । शाखा प्रमुख पण्डितले भन्नुभयो, “प्रशस्त मात्रामा पानी नपर्दा रोपिएको धान बाली पहेँलो हुनाका साथै धाँजा फाटेको छ ।” नगरपालिकाको ढोरफिर्दी, शेराबेशी, जाम्दी र साँखेलगायत स्थानका  खेत धान उत्पादनका लागि पकेट क्षेत्रको रुपमा छन् ।  शुक्लागण्डकी नगरपालिकाअन्तर्गत छ हजार हेक्टर जमीनमा धान उत्पादन हुने भए पनि ५५० हेक्टर जमीनमा मात्रै सिँचाइ सुविधा पुगेको बताइएको छ ।  

उक्त नगरपालिकाभित्र एक हजार ५०० हेक्टर जमीनमा पानी नपरेका कारण खेत बाँझै रहेको शाखाका प्रमुख पण्डितले बताउनुभयो ।  उक्त कार्यालयले धान खेती गर्न नपाई बाँझै रहेका खेतमा बोडी उत्पादन गर्न किसानलाई आग्रह गरेको छ । नगरपालिकाको कृषि शाखाले कृषि विपत् व्यवस्थापनका लागि रु दुई लाख ५५ हजार बजेट विनियोजन गरी धान रोप्न नपाई बाँझो भएका खेतमा अन्य बाली लगाउन कृषकलाई बीउबिजन दिएर सहयोग गर्न लागिएको सो शाखाले जनाएको छ । कृषि ज्ञान केन्द्रले जिल्लामा  १२ हजार २७० हेक्टर जमीनमध्ये ११ हजार सात हेक्टर अर्थात ९० प्रतिशत जमीनमा मात्र रोपाइँ  भएको जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया