दुई अर्ब ५० करोड नाफा गर्ने कुलमानको तयारी

४ बर्ष अगाडि

काठमाडौं – आर्थिक वर्षमा विद्युत् चुहावट रोकेर रु सात अर्ब नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत् चुहावट घटाएर रु दुई अर्ब ५० करोड थप नाफा गर्ने लक्ष्य राखेको छ ।

प्राधिकरणले यो वर्ष चुहावट १५ बाट १२ प्रतिशतमा झारेर यो रकम आम्दानी गर्ने लक्ष्य राखेको हो ।  गत आर्थिक वर्षमा ५ प्रतिशत चुहावट घटाएर झण्डै रु  ७ अर्ब थप आम्दानी गरेको थियो ।

पछिल्लो तीनवर्षयता निरन्तर विद्युत् चुहावट कम गर्दै गएको प्राधिकरणले चालू आवमा ३ प्रतिशत विद्युत् चुहावट घटाउन सकिने लक्ष्य लिएको हो ।
कूल १ प्रतिशत चुहावट घटाउँदा प्राधिकरणलाई रु ८० करोड ँ थप आम्दानी हुन्छ । ३ प्रतिशत घटाउन सफल भएमा रु २ अर्ब ४० करोड  थप आम्दानी हुने देखिएको छ ।

तीन वर्षअघि विद्युत् चुहावट २५ प्रतिशत थियो । त्यसपछिका वर्षमा निरन्तर चुहावट घटाएर प्राधिकरणले गत आर्थिक वर्षमा १५.३२ प्रतिशतमा झारेको थियो ।

तीन वर्षको अवधिमा विद्युत् चुहावट १० प्रतिशत घटेको हो । यसबाट प्राधिकरणले रु ७ अर्ब २० करोड  नाफा कमाएको थियो ।चालू आर्थिक वर्षमा ३ प्रतिशत विद्युत् चुहावट कम गरी १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

‘वितरण र प्रसारण लाइनतर्फको चुहावट घटिरहेको छ । अब प्राविधिकतर्फको चुहावट ५ प्रतिशतसम्म घटाउन सक्छौंं’ उनले भने, ‘त्यसअनुसार यसवर्ष पनि हामीले विद्युत् चुहावट १२ प्रतिशतमा झार्ने लक्ष्य लिएका छौं ।त्यसका लागि व्यापक रुपमा वितरण प्रणाली र प्रसारण लाइन तथा सवस्टेशन निर्माण, नयाँ थप तथा मर्मत सम्भार तीव्र रुपमा गर्दैछौं ।’

गतवर्ष विभिन्न ७० ओटा सवस्टेशन र प्रसारण लाइन निर्माण, थप र मर्मतसम्भार गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरण नाफामा जानुको मुख्य कारण पनि विद्युत् चुहावट घटाउनु हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया