सरकारको सुपथ मूल्य पसल भन्दा बजारमा सस्तो सामान

४ बर्ष अगाडि

सरकारले चाडपर्वको अवसरमामा सञ्चालन गरेको सुपथ मूल्य पसल भन्दा बाहिर बजारमा सस्तो मूख्यमा सामान पाइने गरेको छ । 

चाडवाडमा उपभोक्तालाई राहत दिनको लागि भनेर सञ्चालन गरेको पसलभन्दा डिपार्टमेण्टल स्टोर्सहरुमा सस्तो मूख्यमा उपभोग्य वस्तु पाइने गरेको तथ्य फेला परेको हो । 

नेपाल खाद्य संस्थानले उपत्यकाका ५ स्थानसहित देशका भिन्न २३ स्थानमा, साल्ट ट्रेडिङ्ग कर्पोरेशनले उपत्यकाका ११ र उपत्यका बाहिरका २२ स्थानमा र दुग्ध संस्थानले उपत्यकाका ४ र उपत्यका बाहिरका ११ स्थानमा गरी कुल ७३ स्थानमा सुपथ मूल्यका पसलहरु सञ्चालन गरिरहेका छन् ।

 बजारमा १३८ रुपैयाँ प्रतिलिटरका दरले पाइने सोयाबिन तेल सुपथमूल्य पसलमा १३८ रुपैयाँ, बजारमा १४१ मा पाइने सनफ्लावर तेल सुपथ पसलमा १४८ पर्ने गरेको छ । त्यस्तै बेसार ५०० ग्रामको बजारमा १४५ पर्छ भने सुपथ पसलमा १९५ र खुर्सानी २०० ग्रामको बजारमा ६५ पर्छ भने सुपथ पसलमा ७५ पर्छ । 

बजारमा १०७ पर्ने ५०० ग्राम धनियाको सुपथ पसलमा १३५, २०३ मा पाइने जिराको २८०, रु ४६ मा पाइने १०० ग्राम दालचिनीको रु ६५, १६९ पर्ने मुग दालको १७० र बजारमा १७८ मा पाइने ५ सय ग्राम वेलकम चियाको १८० पर्ने गरेको छ । 

खाद्य संस्थानका महाप्रवन्ध योगेन्द्र गौचन खुल्ला अर्थ बजारमा माग र बजारका हिसाबमा आपूर्तिकर्ताले वस्तुको मूल्य निर्धारण गर्न सक्ने हुँदा सुपथ मूल्य पसल भन्दा बजारमा सस्तो भएको बताउँछन् ।

“खुल्ला अर्थ नीतिको बजारमा प्रतिस्पर्धात्मक रुपमा सामानको आपूर्ति र व्यापार हुने गर्छ”, उनले भने “वस्तुको माग र बजारका हिसाबले आपूर्तिकर्ताले आफैले बजार मूल्य निर्धारण गर्न सक्ने तर बजार मूल्य भन्दा बढी मूल्य निर्धारण भने गर्न नपाउने भएकोले यस्तो भएको हो ।” 

४ बर्ष अगाडि

प्रतिक्रिया