ऐतिहासिक चुरे मन्दिरको जीर्णोद्वार सम्पन्न

४ बर्ष अगाडि

उदयपुरको त्रियुगा नगरपालिका– ६ स्थित चुरे क्षेत्रमा रहेको ऐतिहासिक पञ्चकन्या चुरियादेवीको मन्दिर जीर्णोद्वार तथा पुनःमर्मत गर्ने कार्य सम्पन्न भएको छ ।

प्रदेश नंं। १ सरकार, पर्यटन मन्त्रालयको रु दश लाखको आर्थिक सहयोगमा सो मन्दिरको जीर्णोद्वार तथा पुनःमर्मत गरिएको हो । उदयपुर जिल्लाकै महत्वपूर्ण शक्तिपीठको रुपमा रहेको पञ्चकन्या चुरियादेवी मन्दिरको रङ्गरोगन गर्ने, पर्खाल मर्मत गर्ने, मन्दिर वरपरका क्षेत्रका वृक्ष रोपण तथा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको लागि मन्दिरभन्दा टाढा शौचालयसहितको भौतिक व्यवस्थापन गर्ने कार्य सो बजेटबाट सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उमेश खड्काले बताउनुभयो  ।
    
सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउन र चुरिया मन्दिरमा पनि धार्मिक पर्यटन वृद्धि गर्ने लक्षका साथ पनि पञ्चकन्या चुरिया मन्दिर जीणोद्वारसहितको भौतिक व्यवस्थापन गरिएको मन्दिर व्यवस्थापन समितिले बताएको छ ।

अब मन्दिर जीणोद्वार भएर भौतिक व्यवस्थापनसमेत सम्पन्न भएको कारण मन्दिरमा दर्शन गर्न आउने र चुरिया क्षेत्र भ्रमण तथा घुम्न आउनेको लागि मन्दिर परिसर क्षेत्रमा बस्न घुम्न, सवारीसाधन पार्किङ गर्न र शौच गर्नसमेत सहज बनेको मन्दिरका पूजारी डेकबहादुर मगरले बताउनुभयो । 

मन्दिरको जीर्णोद्वार कार्य र भौतिक व्यवस्थापनसँगै डिभिजन वन कार्यालय गाईघाटले मन्दिर परिसर क्षेत्रमा विभिन्न प्रजातीका रुख बिरुवा रोपेर हरियाली बनाउने कार्यसमेत शुरु गरेसँगै अब चुरिया मन्दिर पर्यटकका लागि पनि आकर्षकको केन्द्र बन्न पुगेको डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहले बताउनुभयो । 

विसं २०४२ मा स्थापना भएको उदयपुरको सो ऐतिहासिक चुरिया पञ्चकन्यादेवीको मन्दिर क्षेत्रमा अहिले दैनिक दुई सय भन्दा बढी भक्तजन दर्शन तथा पूजा आराधनाका लागि आउने गरेका छन् भने झण्डै अढाई सय पर्यटक भ्रमण गर्न वा घुम्नका लागि आउने गरेको मन्दिरका पूजारी मगरले बताउनुभयो । 

उदयपुरको चुरिया क्षेत्रमा रहेको पञ्चकन्या देवीको मन्दिर चुरिया वन क्षेत्रको मनोरम हरियाली तथा तराई र पहाड बिचको सङ्गमस्थल र चुरिया वनजङ्गल क्षेत्रमा विभिन्न जङ्गली जनावर तथा चुराचुरुङगीको उपस्थितिले पनि पर्यटकको मन लोभ्याएर चुरे क्षेत्र भ्रमण गर्न आकर्षक बनाएको त्रियुगा नगरपालिका– ६ जलजलेका स्थानीयवासी तथा समाजसेवी खगेन्द्र कार्कीले बताउनुभयो । 

अहिले जीर्ण मन्दिर जीणोद्वार गर्ने र भौतिक व्यवस्थापन गर्ने कार्य सम्पन्न भएपछि उदयपुरको चुरे मन्दिर क्षेत्र धार्मिक र मनोरञ्जन दुबै दृष्टिले भ्रमण गर्न जाने पर्यटकको लागि आकर्षक बन्न पुगेको स्थायीवासी बताउँछन् ।

पेगोडा शैलीमा रहेको पञ्चकन्या चुरियादेवीको मन्दिर त्रियुगा नगरपालिका–६ को चुरे क्षेत्रस्थित सगरमाथा लोकमार्गको गाईघाट कद्माहा सडकखण्ड अन्तर्गत चुरे डाँडामा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया