सिङ्गापुरमा हुने टी ट्वान्टी क्रिकेटका लागि नेपाली खेलाडी छनोट

४ बर्ष अगाडि

सिङ्गापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी र ओमानमा हुने टी ट्वेन्टी सिरिजका लागि आज नेपालले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
    
आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित टोलीले पारस खड्काको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो ।     
     
नेपालले घोषणा गरेको टोलीमा अलराउन्डर कुशल मल्ल र ब्याट्सम्यान इशान पाण्डे पहिलोपटक टोलीमा परेका छन् । त्यस्तै युवा खेलाडी दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ भने ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र वसन्त रेग्मी टोलीमा अटाएका छैनन् ।  
    
छनोट हुने खेलाडीमा कप्तान खड्कासहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ र सन्दीप लामिछाने छन् । त्यसैगरी सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख र रोहितकुमार पौडेल छन् ।  
    
नेपालले सिङ्गापुरमा आयोजकसँगै टेस्ट राष्ट्र जिम्बावेसँग त्रिकोणात्मक टी २० सिरिज खेल्नेछ । नेपालले असोज १० गते जिम्बावेसँग खेल्नेछ भने असोज ११ गते आयोजक सिङ्गापुरसँग प्रतिस्पर्धा गर्नेछ ।
    
नेपाल यो सिरिज सकिएपछि ओमान प्रस्थान गर्नेछ । यही असोज १८ देखि २३ गतेसम्म हुने उक्त प्रतियोगितामा पाँच राष्ट्रबीच टी–ट्वान्टी सिरिज हुनेछ । जहाँ नेपालसहित आयोजक ओमान, आयरल्याण्ड, हङ्कङ र नेदरल्याण्ड छन् । 
    
यसै सिरिजलाई मध्येनजर गरेर नेपालले भारतीय प्रशिक्षक बुरिटी भेन्कटरामलाई बलिङ कन्सल्टेन्ट प्रशिक्षकमा समेत नियुक्त गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया