पर्यटन प्रवद्र्धन र साझेदारीमा जोड

४ बर्ष अगाडि

इलामको पर्यटकीय विकासलाई लक्ष्य गरी आयोजित पर्यटन व्यवसायी तथा सरोकारवालाबीचको छलफल एवम् अन्तक्र्रियामा पर्यटन, प्रवद्र्धन र पर्यटकीय साझेदारीमा जोड दिइएको छ ।

इलाम नगरपालिका कार्यालय र नगर पर्यटन प्रवद्र्धन समितिद्वारा बिहीबार साँझ संयुक्त रुपमा आयोजित कार्यक्रमका वक्ताले यहाँका प्राकृतिक एवम् सांस्कृतिक स्थललाई पर्यटन बजारमा पु¥याउँदै पोखरा, चितवनलगायत स्थलसँग पर्यटकीय साझेदारी हुनुपर्ने बताउनुभयो । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले समुद्री सतहबाट तीन सयदेखि तीन हजार ६३६ मिटर उचाइमा अवस्थित जिल्लाका भौतिक विविधतायुक्त प्राकृतिक सौन्दर्यले पर्यटकीय रुपमा अत्यन्त महत्व राख्ने बताउनुभयो ।

इलामको मनोरम वातावरणबाट प्रभावित एक भारतीय लेखकले पोखरा र इलामलाई देवता बस्न बनाइएको स्थानका रुपमा चित्रण गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “पर्यटन बजारमा यहाँका विविधतायुक्त पर्यटकीय आकर्षणलाई पु¥याउँदै अन्य प्रमुख पर्यटकीय गन्तव्यबीच सहकार्य गरेर अघि बढ्न सकिन्छ ।” नगरपालिकाले पर्यटन क्षेत्रको विकासलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताउँदै नगरप्रमुख बस्नेतले १८७२ सालको सुगौली सन्धिपछि इलाम नेपालको सिमानाको रक्षा कवच जस्तै बनेको बताउनुभयो । झण्डै डेढ सय वर्षअघि देखिको यहाँको चिया बगान, धार्मिक एवम् सांस्कृतिक पक्षको उचित प्रचार प्रसार हुन नसकेको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले इलामको मनोरम वातावरण, यहाँका सिमसार, चराचुरुङ्गीलगायत पर्यटकीय आकर्षण भएको उल्लेख गर्दै पर्यटकीय विकासका लागि पर्यावरणलाई जोगाउनुपर्ने धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले पर्यटन एउटा व्यावहारिक पाटो भएको र इलामको पर्यटकीय विकासका लागि ग्रेटर इलामको अवधारणामा जानुपर्ने उल्लेख गर्नुभयो ।

इलाम, पोखरा जस्ता पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटनको विकासले पनि महत्व राख्ने बताउँदै उहाँले यी स्थलले क्षेत्रीय अन्तर्राष्ट्रिय बजारमा कसरी पुग्ने भन्ने सोच राख्नुपर्ने बताउनुभयो । प्रमुख पर्यटकीय स्थल एक अर्कोमा सहकार्य गर्दै जान सकेमा त्यसले महत्व राख्ने उहाँ बताउनुहुन्छ । यहाँका पर्यटन व्यवसायी पर्यटन सम्बद्ध एक संस्थामा आबद्ध भई पर्यटकीय विकासका लागि साझा प्रयास राख्नुपर्ने थपलियाले सुझाव दिनुभयो ।

चितवन होटेल सङ्घका पूर्वअध्यक्ष सुमन पौडेलले इलाममा चिया बगान मात्र नभई अन्य विभिन्न पर्यटकीय स्थल पनि छन् भन्ने विषय पर्यटकमाझ पुग्नुपर्ने बताउनुभयो । तालीमप्राप्त पर्यटक पथप्रदर्शकको व्यवस्था गर्न सुझाव दिँदै उहाँले पर्यटकीय साझेदारीका लागि आफूहरू तयार रहेको बताउनुभयो । होटेल एसोसिएशन इलामका अध्यक्ष देवी पौडेलले डेढ सय वर्ष पहिले चिया रोपिएको इलाम पर्यटकीय रुपमा लामो समयसम्म ओझेलमा नै परेको बताउनुभयो ।

“हामीले २०४८ सालमा पोखरा गएर त्यहाँको पर्यटनबारे अनुभव, होटेलको पूर्वाधार लगायतमा चासो दिएका हौँ”, अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “पछिल्लो समयमा इलाममा चार सयभन्दा बढी होटेल छन्, पर्यटक लक्षित सुविधा सम्पन्न होटेल निर्माणले गति लिँदै गएको छ ।” नेपाल पर्यटन बोर्डका प्रबन्धक एवम् इष्टर्न ट्राभल मार्टका संयोजक नवीन पोखरेलले पर्यटक त्यसै नआउने उल्लेख गर्दै पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता लगायतका धेरै कुराले प्रभाव पार्ने बताउनुभयो ।

नजीकै रहेको भारतको पश्चिम बङ्गालमा आठ करोड पर्यटक आउने उल्लेख गर्दै धेरै धार्मिक आस्था एवम् विश्वास राख्ने भएकाले उनीहरूलाई यहाँका पाथीभरा, दन्तकाली लगायतका स्थलको महत्व बुझाउन सक्नुपर्ने धारणा राख्नुभयो । पूर्वी नेपालको पर्यटकीय विकासलाई लक्ष्य गरी नेपाल पर्यटन बोर्डले धरानमा दोस्रो इष्र्टन ट्राभल मार्ट गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

भौगोलिक बनोट र इलाममा उत्पादित चिया, अलँैची लगायतका नगदे बालीले यहाँको जीवनशैली सुधारिएको छ नै जैविक विविधता, जातीय संस्कृति, प्राकृतिक सुन्दरताले पनि ख्याति कमाएको छ । ढकमक्क चियाले ढाकेका डाँडाहरू, विश्वमै दुर्लभ एवम लोपोन्मुख जीव र वनस्पति, कृषि र पशुपालन यहाँका पर्यटकीय अकर्षण हुन् । इलाम र आसपासमा रहेका सन्दकपुर, माईपोखरी, सिद्धिथुम्का, अन्तुडाँडा, छिन्तापु, इलाम पाथीभरा, टोड्के झरना, कन्याम, फिक्कल, माङमालुङ, माबुथाम, गजुरमुखी, नेपाल–भारत सीमा पशुपतिनगर आदि यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया