बाँकेमा औद्योगिक क्षेत्रको निर्माण हुने

४ बर्ष अगाडि

बाँकेको वैजनाथ गाउँपालिका– ३ नौवास्तामा स्थापना गरिने प्रदेशस्तरीय औद्यौगिक क्षेत्रको जग्गा विवाद समाधान भएपछि ५२५ बिघामा औद्यौगिक क्षेत्र निर्माण हुने भएको छ ।  

त्यससँगै भौतिक पूर्वाधार निर्माणको बाटो खुलेको छ । सरकारले औद्योगिक क्षेत्रका लागि छुट्याएको सो जग्गामा २०० भन्दाबढी स्थानीय घर बनाएर बसिरहेकाले औद्यौगिक क्षेत्रको भौतिक पूर्वाधार निर्माणलगायतको काम अघि बढ्न सकेको थिएन । 

उक्त विवाद धेरैपटक समाधान गर्ने प्रयास गरिए पनि समाधान हुन नसकेकामा जिल्ला प्रशासन कार्यालयमा भएको पछिल्लो सर्वदलीय बैठकमा सो समस्या समाधान भएको हो । अब भौतिक पूर्वाधार निर्माणको काम शुरु गरिने औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताउनुभयो । 

औद्योगिक क्षेत्रको जग्गामा रहेको २०८ घरसहित करीब २६८ परिवारलाई सोही स्थान नजिकको ३० बिघा क्षेत्रफलमा जग्गा दिएर सार्ने सर्वदलीय सहमति बनेपछि विवाद समाधान भएको अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले छानबिन गरेर कसलाई कति जग्गा दिने भन्ने छिनोफानो गरेर जग्गा उपलब्ध गराउने सहमति बनेको बताउनुभयो । 
 
औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि सो वरपरका स्थानीयले रोजगारी पाउनुका साथै अन्य विभिन्न व्यवसायसमेत गर्नसक्ने भएकाले नजिकै जग्गा पाएमा जाने बताएका थिए । जग्गा विवादकै कारण करीब चार वर्षदेखि औद्योगिक क्षेत्र सञ्चालनको काम हुन नसकेकामा अब तीव्र गतिमा काम शुरु गर्नुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल बैश्यले बताउनुभयो । 

अबका केही महीनाभित्र उद्योगीलाई जग्गा उपलब्ध गराएर चार वर्षभित्र सम्पूर्ण निर्माण कार्य पुरा गर्ने योजना रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले औद्योगिक क्षेत्रको जग्गाभित्र घर बनाएर बसेका परिवारको उचित व्यवस्थापन गर्न सफल भएको जनाउँदै अब औद्योगिक क्षेत्र निर्माणको काम तीव्र पारिने बताउनुभयो । प्रदेशस्तरीय सो औद्योगिक क्षेत्रले कम्तीमा ३० हजारलाई रोजगारी दिने बताइएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया