मधेशी दलको प्राथमिकता : मुद्दा कि सत्ता ?

५ बर्ष अगाडि

– संगीता रेग्मी  
राजनीतिक दल भनेको विचार, सिद्धान्त र वादमात्रै होइन, आन्दोलनको निरन्तरता समेत हो । नेपालमा केही राजनीतिक दलहरू विचार सिद्धान्तले स्थापित भए भने केही आन्दोलनको निरन्तरताले गर्दा राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने शक्तिको रूपमा उदाए । बाम गठबन्धनको संयुक्त सरकार निर्माण गरी दुई तिहाई भन्दा बढी बहुमतको सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराएर आफू अझ बलियो बनेका छन् । मधेशको अर्को मुख्य दल राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउन पहल भइरहेको छ ।
नेपालकै राजनीतिक इतिहासमा सबभन्दा शक्तिशाली पार्टीको नेतृत्वमा सबभन्दा शक्तिशाली सरकारको निर्माण भएको छ । यो सरकारले चाहेमा संविधान संशोधनका लागि कुनै अप्ठेयारा छैनन् । त्यसमा पनि नेपाली कांग्रेसले संसद्को पहिलो बैठकमै संविधान संशोधनको लागि आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिसकेको छ । सरकारसँग प्रचण्ड बहुमत हुँदाहुँदै पनि संविधान संशोधन गरेर मधेश र देशका सम्पूर्ण समस्याहरू सम्बोधन गर्ने तिर सरकारको पहल देखिएको छैन । यी र यस्ता क्रियाकलापहरूले गर्दा संशोधनका कुरा उठाउने, सरकारमा जाने र सरकारको भाषण मात्र आइरहने प्रवृत्तिले गर्दा मधेशको माग सम्बोधन हुन्छ भन्नेमा आशंका देखिन थालेको छ ।  
मधेशको मुड 
६÷६ महिनासम्म लामो आन्दोलन गरेका मधेशका जनताले नाकाबन्दीबाट झन् ठूलो सास्ती व्योहो¥नुप¥यो ।  आन्दोलनका क्रममा सयौंको ज्यान गयो, हजारौं अंगभंग भए, अझपनि सयौं थुनामा छन् । त्यसका बाबजुद पनि मधेशका जनता रोजगारी, शिक्षा, स्वास्थ्य लगायत अन्य सुविधा आफ्नो गाउँठाउँसम्म आईपुग्छ भन्नेमा आशावादी छन् । देश संघीयतामा गएपछि सिंहदरबारको अधिकार गाउँगाउँमा आउँछ भन्ने सुनेका जनताले संघीय सरकारमाथि धेरै आशा र भरोसा गरेका छन् । तर, मधेशी जनताको लागि राजनीति गछौं भन्ने दलहरूकै सरकार भएको प्रदेश नम्बर २ को संघीय सरकारले जनताको आशा अनुरूप काम गरेको पाईदैन । भाषण र आश्वासन एकातिर, काम गराई अर्कोतिर हुँदा ती राजनीतिक दलहरू माथि मधेशी जनताको विश्वास कम हुँदै गएको पाइन्छ । 
सम्भावित वैकल्पिक शक्ति 
नेपाली राजनीतिको मुख्य थलो भनेको मधेश नै हो । अहिले ठूला दलका रूपमा उदाएका नेपाल कम्युनिष्ट पाटी र कांग्रेसको उदय पनि मधेशबाट नै भएको थियो । धेरै जनसंख्या हुनु, भौगोलिक सुगमता, संगठन विस्तारमा सजिलो, अन्य थुप्रै विषयहरूमा सहजता जस्ता कारणहरूले गर्दा पनि हरेक राजनीतिक दलहरूले मधेशलाई आफ्नो राजनीतिको उर्वर भूमिको रूपमा प्रयोग गर्दे आए । विभिन्न मुद्दाहरू उठाई राजनीतिमा आफ्नो पहिचान बनाउन खप्पिस भईसकेका दलहरू हरेक समयमा आन्दोलनका लागि मधेशी जनतालाई प्रयोग गर्ने र अन्तिम अवस्थामा मधेशको मुद्दालाई सरकारसँग बेचेर आफू सत्तामा जाने गरेको यर्थात अब मधेशी जनतबाट लुक्न सक्दैन । छुट्टा–छुट्टै दल हुँदा होस् वा एकीकरण भएपछि होस्, मधेशका राजनीतिक दलहरूको उद्देश्य मधेशको मुद्दा लिएर सत्ता प्राप्त गर्नु नै हो । पटक पटक बेइमानी गरेका दलहरूलाई अब धेरै समय मधेशी जनताले कुर्नेवाला छैनन् । अब मधेशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यक्ता महसुश हुन थालेको छ । 
परम्परागत राजनीति र शास्त्रीय चिन्तनबाट मुलुकमा परिवर्तन सम्भव छैन भन्ने मान्यता सहित बाबुराम भट्टराईको नेतृत्वमा ‘नयाँ शक्ति’ र रविन्द्र मिश्रको नेतृत्वमा ‘विवेकशील साझा पार्टी’ गरी दुई नयाँ राजनीतिक दलहरू खुले । गत स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा ‘राष्ट्रिय दल’को मान्यता पाउने महत्वकांक्षा पूरा गर्न नसके पनि वैकल्पिक दलको रूपमा उदाएको दल भएर यी दुवै दलहरूले धेरै थोरै प्रभाव नेपाली राजनीतिक वृत्तमा राखे र अहिलेसम्म पनि राखी नै रहेका छन् तर यी दलहरूले पनि मधेशलाई समेट्न सकेका छैनन् । 
वैकल्पिक शक्तिबारे के भन्छन् मधेशका अगुवाहरू ः 
जयप्रकाश गुप्ता 
संयोजक, तराई–मधेश राष्ट्रिय अभियान 
संघीय समाजवादी फोरम र राजपा नेपाल दुवै पार्टी सत्ता समर्पण र मुद्दा विसर्जनका पात्रहरू हुन् । उनीहरूको मूल ध्येय नै जसरी भए पनि मधेशको नारामा, मधेशी जनताको मागको नाममा संसदमा जाने र सत्ताको खेल खेल्ने नै हो । मधेशमा उनीहरूलाई पनि सही ट्र्याकमा ल्याउनका लागि एउटा वैकल्पिक धारको आवश्यकता छ । स्वायत्त मधेश प्रदेशको निर्माणका लागि, मधेशको समुचित प्रतिनिधित्वका लागि, मधेश प्रदेशको पुनः मान्यताका लागि यावत् जुन मागहरू रहेका छन्, त्यसलाई शान्तिपूर्ण ढंगबाट उठाउनका लागि वैकल्पिक संगठनको अति आवश्यकता रहेको छ । 
उपेन्द्र झा 
राजनीतिक विश्लेषक
पराजित मानसिकताले गर्दा मधेशको जनाधार कांग्रेस र नेकपामा जान थालेको छ । मधेशमा भएका दलहरूको वैचारिक अडान नभएको, व्यक्तिगत स्वार्थ र दलाल मानसिकताले गर्दा मधेशमा राजनीतिक दलहरूले पार्टीको संस्थागत विकास गर्न सकेनन् । त्यसकारण पनि मधेशमा जनाधार भएका नेताहरू अन्यत्र पार्टीमा प्रवेश गरे । राजपा र फोरम दुवै पार्टी मधेश मुद्दालाई छाडी सरकारमा सामेल भएपछि मधेशको राजनीतिक धरातल पूर्ण रूपमा खाली भएको छ । अब मधेशको नेतृत्व गर्न नयाँ राजनीतिक शक्तिको उदय हुने प्रवल सम्भावना छ र हुनुपर्छ ।   

रामरिझन यादव 
सदस्य, नयाँ शक्ति सचिवालय 
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको अवस्था अहिले मधेशमा त्यति राम्रो छैन, किनकी नयाँ शक्ति पार्टीलाई मधेशमा थेग्न सक्ने रामचन्द्र झा, महेन्द्र पासवान र रामकुमार शर्मा बाहिरिनु भएको छ । यसले गर्दा मधेशमा नयाँ शक्तिको जुन अवस्था थियो त्यसमा केही स्खलन भएको छ । तर अवसवादीहरू सत्तातिर लम्केकाले मधेशमा नयाँ शक्ति बाहेक अर्को वैकल्पिक शक्ति छैन । आउने दिनमा नयाँ शक्तिले राम्रो संगठनात्मक संरचना तयार गरेर अवसरवादीको विरूद्धमा एउटा नयाँ सोच र विचारको बिजारोपण गर्ने छन् । जसको खाँचो अहिले मधेशमा छ । 
निष्कर्ष ः 
मूलधारका राजनीतिक दलहरूले पनि अब मधेशको मुद्दा सम्बोधनमा ध्यान दिनुपर्छ । राष्ट्रिय अखण्डतालाई कायम राख्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ को अभियान अघि बढाउने हो भने मधेशको मुद्दालाई छाडेर अगाडि बढ्न सकिन्न । मधेशमा बढ्दै गएको अलगाववादी राजनीतिलाई हटाउन मधेशको मागहरू समयमा नै सम्बोधन गराउन आवश्यक छ किनकी मधेशमा अब जन्मिने वैकल्पिक शक्ति राज्यसँग वार्ता वा सहमति सम्झौतामा अल्झिदैंन उनीहरूको आन्दोलनले अलगाववादीलाई बल पु¥याउँछ जसले गर्दा अहिले मधेशको मुद्दालाई लिएर राजनीति गरिरहेका दलहरू अस्तित्व समाप्त हुन्छ ।  (मधेश दर्पण फिचर सेवा)

५ बर्ष अगाडि

प्रतिक्रिया