सैनामैनामा कभर्डहल निर्माण

४ बर्ष अगाडि

रुपन्देहीको सैनामैना नगरपालिकामा रु एक करोड एक लाख ६० हजारको लागतमा ब्याडमिन्टन कभर्डहल निर्माण गरिएको छ । नगरपालिकाको रु ७६ लाख ६० हजार, जिल्ला समन्वय समितिको रु १० लाख, खेलकूद विकास समितिको रु १० लाख र सैनामैना ब्याडमिन्टन क्लबले रु पाँच लाख लगानी गरेको नगरपालिकाले जनाएको छ ।
 
विसं २०७२ देखि पर्रोहा ब्याडमिन्टन क्लबले कभर्डहल निर्माणका लागि पहल गरेर काम शुरु गरेको बताइएको छ । कभर्डहलको सोमबार उद्घाटन गर्दै  प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले प्रदेश सरकारले खेलकूद क्षेत्रमा उच्च प्राथमिकता दिएको बताउनुभयो । प्रदेशका सबै स्थानीय तहमा प्रदेश सरकारले खेलकूद क्षेत्रको संरचना निर्माणका लागि सर्शत अनुदानमा बजेट पठाएको उहाँले जानकारी दिनुभयो ।
  
प्रदेश सरकारकै बजेटमा दाङको घोरोही र बुटवलको नयाँगाउँमा अन्तरराष्ट्रियस्तरको रङ्गशाला बन्न लागेको उल्लेख गर्दै  मन्त्री बरालले भन्नुभयो, “तीव्ररूपमा  प्रदेशभित्र खेलकूदको विकास भएको छ ।” प्रदेशसभाका सदस्य कलमलादेवी विश्वकर्माले खेलकूदमा सबैको पहँुच बढाउनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरमा खेलकूद क्षेत्रको विकासका लागि भौंतिक संरचना निर्माणमा जोड दिएको बताउनुभयो ।
 
कार्यक्रममा ब्याडमिन्टन क्लब रुपन्देहीका वरिष्ठ उपाध्यक्ष मनोज श्रेष्ठ, जिल्ला खेलकूद विकास समितिका पूर्वअध्यक्ष  राजु गुरुङ, सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्दबहादुर क्षेत्री, कृष्णबहादुर केसीलगायतले खेलकूदको विकास अपरिहार्य भएको बताउनुभयो ।

४ बर्ष अगाडि

प्रतिक्रिया