भुजुङ पर्यटन महोत्सव सम्पन्न

४ बर्ष अगाडि

‘भुजुङ पर्यटन महोत्सवमा सहभागी बनौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ भुजुङ पर्यटन महोत्सव बुधबार सम्पन्न भएको छ । 

क्व्होलासोथर गाउँपालिका–४ भुजुङमा सञ्चालित सो तीनदिने महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय हस्तकला सामग्री र स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु प्रदर्शनी, स्थानीय खानाका परिकारको चमेनागृह सञ्चालन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी गीत प्रस्तुतलगायत मुख्य आकर्षणको रुपमा रहेको थियो । 

नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउँदै गाउँमा धेरैभन्दा धेरै सङ्ख्यामा पर्यटन ल्याउनका लागि महोत्सवको आयोजना गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष तुलबहादुर गुरुङले बताउनुभयो । 

उहाँले भन्नुभयो, “राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा यो पर्यटकीय गाउँको प्रचारप्रसार गर्न तथा नेपाल सरकारले अघि सारेको भ्रमण वर्षलाई सहयोग पु¥याउनका लागि पहिलोपटक महोत्सव गरिएको छ ।”

यस भुजुङ गाउँमा विसं २०६४ बाट घरवास (होमस्टे) समेत सञ्चालनमा आएको छ । अहिले २२ घरवास सञ्चालनमा रहेका छन् । आगामी पाँच वर्षभित्र ५० वटा घरवास सञ्चालन गर्ने लक्ष्य लिएको भुजुङ ग्रामीण व्यवस्थापन समितिले जनाएको छ । 

यस गाउँमा ९० प्रतिशत गुरुङ र बाँकी दलितहरुको बसोवास छ । ५०० घरधुरी रहेको यस गाउँमा करीब तीन हजार जनसङ्ख्या रहेको छ । भुजुङ गाउँको पश्चिमतर्फ पसगाउँ र सिङदीगाउँ, दक्षिणमा तामुगाउँ र पूर्वमा दक्षिण एशियाकै नमूना घलेगाउँ, घनपोखरागाउँ रहेको छ । त्यस्तै उत्तरतर्फ मिदिमखोलाको शिर, घना वनजङ्गल र लमजुङ हिमाल रहेको छ । 

भौगौलिक, प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यो गाउँ बेँसीशहरदेखि करीब ३२ किलोमिटर टाढा रहेको छ । बेँसीशहरबाट ग्रामीण कच्ची सडक पार गर्दै सवारी साधनले साँढे तीन घण्टामा त्यहाँ पुग्न सकिन्छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया