संसारको नजर विश्वकपमा : उमंग फुटबलको, ब्यापार जर्सीको

५ बर्ष अगाडि

 
यतिबेला विश्वको नजर रुसमा भइरहेको ‘फिफा वल्र्डकप २०१८’ मा केन्द्रीत छ । फुटबलका उस्तादहरु र उनीहरुका फ्यानहरुका लागि महाकुम्भ मेलाको रुपमा रहेको प्रतियोगिताको सर्वत्र चासो र अभिरुची बढेको छ । प्रतियोगितामा सहभागिता जनाएका देशका समर्थकहरु यसैपनि खेल हेर्न केन्द्रीत छन्, भलै प्रतियोगितामा सहभागी हुन नसकेका देशका समर्थहरु पनि विश्वकप हेर्न मरिहत्ते गरिरहेका छन् । यो बर्षको उपाधीमा कसले बाजी मार्छ, कसले सुनको बुट पाँउछ, कसले ह्याट्रिक गर्छ भन्ने बिषयमा दर्शकहरुबिच कौतुहलता बढिरहेको छ । नेपाली मिति अनुसार गत जेठ ३१ गतेदेखि शुरु भएको यो प्रतियोगिता असार ३१ गते अन्तिम प्रतिष्पर्धा हुँदैछ । ३२ टोलीले सहभागिता जनाएको यो प्रतियोगितामा हालसम्म सर्वाधिक गोलकर्ता पोर्चुगलका खेलाडि क्रिश्चियानो रोनाल्डो बनेका छन् जसले ४ गोल गरेका छन् । 
फुटबलको उमंग जर्सीको व्यापार 
विश्वकपमा चाखलाग्दो विषय जर्सीको व्यापार पनि हो । बजारमा ख्यातिप्राप्त खेलाडी तथा फुटबल राष्ट्रको जर्सीको व्यापार पनि ह्वात्तै बढेको छ । यतिबेला हरेक देशमा सबैभन्दा बढी बिक्री हुने कपडाका रुपमा सायद खेलाडीका जर्सी नै होला । विश्वकपका दौरान अरबौ डलर बराबरको जर्सीको कारोबार हुने अनुमान छ । चर्चित फुटबलर लियोनेल मेस्सी, क्रिश्टियानो रोनाल्डो, नेइमार लगायतले प्रयोग गर्ने नंबर अंकित जर्सीको ब्यापक बिक्री हुने गरेको छ । 
लार्स बेकरले इप्सो डटकममा लेखेका छन्–‘लाखौ लाख जर्मनीको जर्सी बिक्री भएको छ । जर्मन चान्सलर एङ्गेला मार्केलले विश्वकप शुरु हुनु दुई महिना अघि नै जर्मनी टिमको जर्सी लिएकी थिइन । उनले ८९.९५ यूरो मुल्य बराबरको जर्सी उपहारको रुपमा लिएकी हुन् ।’ यसले के देखाँउछ भने फुटबल खेलका पारखीहरु सामान्य जनता मात्र नभई देशका उच्चस्तरका पदाधिकारीहरुलाई पनि फुटबल खेलको आर्कषण छ । 
सन् २०१४ को विश्वकप फुटबलका दौरान एडिडास कम्पनीले ३ मिलियन जर्मनीको जर्सी बिक्री गरेको उल्लेख गरेको छ । सो खेल अवधीमा एडिडासले  जर्सी, स्र्पोट्स सुज, फुटबल गरी २.१ बिलियन यूरोको कारोबार गरेको थियो । विश्वमा विश्वकपको दौरान खेल सामग्रीको कति कारोबार हुन्न भन्ने एकिन नभएपनि एडिडासले गरेको सो बिक्रीलाई आधार मान्ने हो भने खरबौ रुपैयाको आर्थिक कारोबार हुनसक्ने अनुमान गर्न सकिन्छ । 
नेपालमा पनि खेलप्रेमीहरु माझ विश्वकपको प्रभाव कम छैन् । साना बालबालिका देखि वयस्क, बृद्धहरुमाझ विश्वकप लोकप्रीय बनेको छ । हरेक कपडा पसलहरुदेखि फुटपाथमा समेत विभिन्न देशका जर्सीको कारोबार बढेको छ । अर्कोतिर होटल रेष्टुँराहरुमा पनि ब्यापार बढेको छ । ठूला स्क्रीनमा खेल देखाएर खाने पिउने व्यवस्था गरेका होटल तथा रेष्टुँराहरुमा पनि यूवायूवतीको जमघट बढेको छ । 
यस्तै विश्वकपको देखासिकी गरेर सानातिना स्थानीय रुपका फुटबल प्रतियोगिताहरु पनि आयोजना हुन् थालेका छन् । स्कुल, क्याम्पस, विभिन्न क्लबहरुले सानातिना प्रतियोगिता आयोजना गर्दा यसले फुटबल खेलको प्रर्वद्धन र रोचकतालाई झनै अभिबृद्धी गरिरहेको छ ।  
  
 

५ बर्ष अगाडि

प्रतिक्रिया