तीन सहकारी एकीकरण

४ बर्ष अगाडि

बगनासकाली गाउँपालिकामा बलियो पूँजी र उचित व्यवस्थापनका लागि फरक पहिचानका सहकारी एकीकरण भएका छन् ।

फरक पहिचानसहित स्थापना भएका पूँजी र व्यवस्थापन कमजोर रहेका सहकारी संस्थाबीच एकीकरण गरिएको छ । यहाँस्थित तीन सहकारी एकीकरण भएपछि गाउँपालिकास्तरीय सहकारी बनेको हो ।

वडा नं ८ स्थित बराङ्दी स्वावलम्बन विकास बचत तथा ऋण सहकारी, महिला जागृति बराह बहुउद्देश्यीय सहकारी र वडा नं ९ स्थित सिर्जना सहकारी संस्था एकीकरण भएका हुन् । गाउँपालिकाबाट एकीकरणका लागि सैद्धान्तिक सहमतिअनुरुप एकीकरण गरिएको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद भुसालले बताए । सहकारी एकीकरणले पूँजी बलियो र प्रभावकारी व्यवस्थापन हुने उनको विश्वास छ ।

एकीकरणपछि सहकारी सदस्यमा आर्थिक पहुँच विस्तार हुनेछ । एकीकरणपछि नयाँ बनेको सहकारीको नाम बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था राखिएको छ । सहकारीका शेयर सदस्यको सङ्ख्या एक हजार २२५ पुगेको छ  । शेयर पूँजीतर्फ रु १७ लाख, बचततर्फ रु ३८ लाख र रु दुई करोड ८० लाख ऋण लगानी छ ।

गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गरिबी हटाउन र व्यावसायिक बनाउन सहकारीको ठूलो भूमिका रहेको बताए । ससाना पूँजीमा सञ्चालित सहकारी एककीरण गरी नमूना काम भएको उहाँको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले सहकारीले गरीब तथा विपन्न समुदायका नागरिकको जीवनस्तर सुधार ल्याउन सफलदायी हुने विश्वास व्यक्त गरे । जिल्ला सहकारी सङ्घका अध्यक्ष धु्रवराज अधिकारीले सहकारीको मूल्य र मान्यताअनुसार नै सहकारीको एकता र उचित व्यवस्थापन गर्न खाँचो रहेको बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया