मध्य दशैंमा पनि कामको दौडधुपमा पर्यटन मन्त्री

४ बर्ष अगाडि

काठमाडौं–अहिले मध्य दशैं चलिरहेको छ । सरकारी कार्यालयहरु बन्द छन् । तर संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराई भने सोमबार अर्थात् महानवमीको दिनमा पनि दिनभरी मन्त्रालयसँग सम्बन्धित काममै व्यस्त रहे । 
मन्त्री भट्टराईले सोमबार भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र लुम्बिनीमा निर्माणाधीन अन्तराष्ट्रिय ‘बुद्धिस्ट कन्फरेन्स तथा मेडिटेशन हल’को स्थलगत निरिक्षण गरेर कामको बारेमा जानकारी लिएका हुन् । कामको जानकारी लिएपछि मन्त्री भट्टराईले तोकिएकै समयमा सम्पन्न गर्नका लागि आयोजनाका अधिकारीहरु छलफल गरेर कामका योजना समेत तयार पारेका छन् । 
लुम्बिनीमा एकसाथ ५ हजार मानिसले मेडिटेशन गर्न मिल्ने हल निर्माण भइरहेको छ । यो हललाई आमगी बुद्ध जयन्तीबाट सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण काम भइरहेको छ । मन्त्री भट्टराई महानवमीको दिन पुग्दा पनि करिब १ सय जना श्रमिकहरुले काम गरीरहेका थिए । १०० जनाभन्दा बढी श्रमिकहरू काममा व्यस्त रहेको देखेका भट्टराईले सबै क्षेत्रमा यसरी नै काम हुनसके देश बन्न धेरै समय नलाग्ने बताए । 
मन्त्री भट्टराईले हल निर्माणको अनुगमन गरीसकेपछि मध्य दशैंमा पनि धमाधम काम भइरहेकोप्रति प्रशंसा गरे । मन्त्री भट्टराईले तोकिएकै समयमा हल निर्माण सम्पन्नका लागि काम गर्न निर्देशन दिए । स्थलगत निरिक्षणपछि मन्त्री भट्टराईले कार्यालय खुलेको हल निर्माणको अवस्था बारेमा एक हप्ता भित्र रिपोर्ट दिन निर्देशन दिएका छन् । 

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण
मन्त्री भट्टराईले सोमबार नै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको पनि निरिक्षण गरेका छन् । मन्त्री भट्टराईले तीनघन्टा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणस्थलको स्थलगत निरिक्षण गरेर कामको अवस्था बारेमा जानकारी लिए । उनले निर्माणस्थलको कामको बारेमा मसिनो गरी जानकारी लिएका थिए । 
करिब ३ घन्टाको स्थलगत निरिक्षणपछि १ घन्टा ब्रिफिङ्ग लिएका थिए । एक घन्टा मसिनो गरी बसेर टेबल वर्क गरेर गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निमार्णाधिन अलग अलग कामको बारेमा जानकारी लिएका हुन् । मन्त्री भट्टराईले कुन काम कसरी भइरहेको छ ? कुन अवस्थामा पुगेको छ ? समस्या के छन् ? आदि बारेमा जानकारी लिए । आगामी कार्ययोजनाका बारेमा छलफल गरी समयतालिकासहितको योजना निर्माण गरिएको उनले बताए । विमानस्थलस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाका विविध पक्षबारेमा जानकारी गराएका थिए । 
कामको अवस्था बारेमा जानकारी लिइसकेपछि मन्त्री भट्टराईले कार्यालय खुलेको तीन दिनभित्र कामको अवस्था बारेमा १९ वटा बूँदामा रिपोर्ट दिन निर्देशन दिएका छन् । उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि २९ असोजमा अध्यागमन, ३० असोजमा भन्सार र १ कार्तिकमा जलवायु कार्यालयसँग बैठक गर्न निर्देशन समेत दिएका छन् । 
अनुगमनमा मन्त्री भट्टराई सहित नागरिक उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारी लगायतका उच्च अधिकारीहरु सहभागी थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया