बैंक तथा वित्तीय संस्थामा जागिर खान मन छ? यस्ता चाहिन्छ गुणहरु

४ बर्ष अगाडि

काठमाडौं – सामान्य अर्थमा रुपैयाँ, पैसा तथा शाख सम्बन्धी कारोबार गर्ने कानुनद्धारा मान्यता प्राप्त वित्तीय संस्था हो बैंक । बैंकले सर्वसाधारणबाट निक्षेप स्वीकार गर्दछ र सर्वसाधारणको माग अनुरुप निश्चित मापदण्ड पुरा गरी कर्जा प्रवाह गर्नुको साथै, बचत गरेको रकम भुक्तानी समेत गर्दछ ।

बैंक एउटा सिसाको घर हो । प्रर्याप्त मात्रामा जोखिम भएको ठाउँ बैंक हो । बैंकमा सानो सानो लगानीदेखि धेरै ठुलो लगानी रहेको एउटा घर हो । त्यसैले बैंक जनताको एउटा विश्वासिलो र भरपर्दो संस्थाको रुपमा परिचित छ । त्यसकारण बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु इमान्दारका साथै, नैतिकवान हुनुपर्छ । दशैं भर्खरै सकिएको छ, अब अध्ययन सकाएकाहरु बैंक तथा वित्तीय संस्थामा जागिर खान मन लागेको छ भने यी गुणहरुबारे अध्ययन गर्न र मनन् गर्न आवश्यक छ ।

बैंकमा काम गर्ने कर्मचारीमा हुनुपर्ने गुणहरु
इमान्दारीताः
बैंकका कर्मचारीहरुमा हुनुपर्ने विभिन्न गुणहरुमध्ये इमान्दारी सबैभन्दा महत्वपुर्ण गुण हो । कर्मचारीहरु बैंकको आर्थिक कारोबारहरुमा प्रत्यक्ष रुपमा संलग्न हुनुपर्ने भएकोले यो गुण अति नै मह्त्वपुर्ण गुण मानिन्छ । कर्मचारीहरुले कुनै लोभ लालचमा नपरि इमान्दारीपुर्वक काम गर्नुपर्दछ । एक पटक गुमेको विश्वास कहिले पनि फिर्ता हुन सक्दैन त्यसकारण पनि बैंकको कर्मचारी इमान्दार हुनु जरुरी छ ।

जिम्मेवारी बहनः बैंकमा काम गर्ने कर्मचारीहरुलाई अत्याधिक दबाव तथा असंख्यक दायित्वहरु बिच आफनो जिम्मेवारीमा आएको दैनिक कामहरु गर्नु पर्ने हुन्छ । अन्य दायित्वहरु पुरा गर्दै आफनो दैनिक कामहरु अति नै चालाखी तथा मिहिन कुराहरुमा समेत ध्यान दिएर गर्नुपर्दछ ।

समस्या सामाधानकर्ताः त्यस्तो व्यक्ति जो समस्याहरुसँग नडराई त्यसको डटेर सामना गर्न तथा आवश्यक परेको बेला कार्यालय समयभन्दा अन्य समयमा समेत काम गरेर समस्याको उचित सामाधान खोज्न सक्छ, त्यस्तो व्यक्तिलाई बैकिङ्ग क्षेत्रमा काम गर्न बढी प्राथमिकता दिईने भएकोले यो गुण अति नै आवश्यक गुण भित्र पर्दछ ।

छिटो सिक्नेः संसारमा हुने नयाँ अविष्कारहरु सबैभन्दा पहिले बैकिङ्ग क्षेत्रमा नै भित्रिने तथा भित्रिएको प्रविधिहरु पनि लामो समयसम्म रहिनरहने भएकोले बैंकमा काम गर्ने कर्मचारीहरुलाई धेरै कुराहरु निरन्तर रुपमा सिकिरहनु पर्ने हुन्छ । यसको आलावा आफुलाई समयानुकुल परिष्कृत गर्नको लागि पनि केहि न केहि दैनिक रुपमा सिकिरहनु पर्ने हुन्छ ।

नेतृत्वः बैंकमा काम गर्ने कर्मचारीहरुमा नेतृत्व गर्ने क्षमता हुन आवश्यक छ । कुनै वैंकमा आउने ग्राहकहरु सामाजमा भएको उच्च तथा शिक्षित वर्गमा पर्ने भएकोले त्यस्तो ग्राहकहरुलाई सफलतापुर्वक सेवा दिएर बैकमा पुनः आउनको लागी अभिप्रेरित गर्नको लागि कर्मचारीमा भएको नेतृत्व गर्ने गुण अति नै महत्वपुर्ण मानिन्छ ।

अशल संचारकर्ताः बैंकमा काम गर्ने कर्मचारीहरुमा अर्को नभई नहुने गुणहरुमध्ये अशल संचारकर्ता पनि एक महत्वपुर्ण गुण हो । बैंकमा काम गर्ने कर्मचारीहरु ग्राहकहरुसँग निरन्तर संवाद गर्नुपर्ने भएकोले यो गुण हुन आवश्यक मानिन्छ । बैंकको कर्मचारीहरुले आर्थिक कारोबारहरुको सम्बन्धमा ग्राहकहरु नहिचकिचाई तथा झन्झट नमानिकन संचार गरि रहनुपर्ने भएकोले यो गुण कुनै पनि बैंकको कर्मचारीमा हुन आवश्यक हुन्छ ।

स्वतन्त्रः बैंकको कर्मचारीहरु आफनो कामहरु आफु स्वयम्ले मात्र गर्न सक्नु पर्दछ । आफ्नो जिम्मेवारीको कामहरु गर्नको लागि अरु कर्मचारीको सहयोग लिने अवस्था नआएको नै राम्रो हुन्छ । फेरि, आफुले गर्ने कामको सम्बन्धमा आफुलाई पुर्ण जानकारी छैन भने आफुले गरेको काम सही वा गलत के छ भन्ने कुरा पनि थाहा पाउन सकिँदैन । तसर्थ, बैंकको कर्मचारीले आफनो काम गर्नको लागी अरुमा भर नपरिकन स्वतन्त्र भई काम गर्न सक्ने हुनुपर्दछ ।

सहकार्यको भावनाः बैंकमा गर्नुपर्ने कतिपय कामहरु एक्लै गर्न नसक्ने प्रकृतिको हुन्छ । यस्तो प्रकृतीको काम गर्नको लागि केहि कर्मचारीहरुको टिम बनाई काम गर्नुपर्ने भएकोले टिममा बसेर काम गर्न सक्ने गुण भएको कर्मचारीलाई कुनै पनि बैंकले अत्याधिक रुपमा रुचाउने गर्दछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया