कुलेखानी तेस्रो सकिएसँगै क्षमता बढेर १०६ मेगावाट पुग्यो, तीन आयोजना सकियो

४ बर्ष अगाडि

काठमाडा – देशको विद्युत् प्रणालीमा पछिल्लो एक सातामा मात्रै कूल ४७ मेगावाट विद्युत् थप भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लामो समयदेखि क्रोनिक आयोजनाको रुपमा रहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन शुरु गरेको छ ।

चिनियाँ प्राविधिक आएर सबै तयारी गरेपछि सोमबार साँझदेखि कुलेखानी तेस्रोको विद्युत् प्रणालीमा थप भएको हो ।

सो आयोजना सम्पन्न भए सँगै कुलेखानीको कूल जडित क्षमता १०६ मेगावाट पुगेको छ ।

यसअघि कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कूल १०६ मेगावाट विद्युत् उत्पादन शुरु हुन थालेको हो ।

त्यसो त कुलेखानीको जलसतह बढेर निश्चित सीमा भन्दा माथि पुगेको छ । निरन्तरको वर्षा तथा जथलाधार क्षेत्रबाट नियमित रुपमा पानी थपिएपछि प्राधिकरणले नियमित रुपमा विद्युत् उत्पादन गरी रक्सोल परवानीपुर १३२ केभी प्रसारण लाइन मार्फत भारतको बिहारमा विद्युत् निर्यात गरीरहेको छ ।

गत साउनदेखि नै प्राधिकरणले दैनिक ४५ मेगावाटको हाराहारीमा विद्युत् निर्यात गरिरहेको छ ।

यस्तै निजी क्षेत्रका दुई आयोजना समेत निमाृण सम्पन्न भई  विद्युत् उत्पादन शुरु गरेका छन् । त्यसमा गुरु न्यौपानेलगायतको लगानी रहेको काबेली बी वानको पनि विद्युत् उत्पादन शुरु भएको छ । सो आयोजनाबाट कूल २५ मेगावाट विद्युत् थप भएको छ ।

पाँचथर र ताप्लेजुङको सीमानामा रहेको आयोजनाबाट विद्युत् उत्पादन शुरु भएको काबेली पावरका निर्देशक रमेश न्यौपाने जानकारी दिए । यस्तै दार्चुलामा आयोजना स्थल रहेको माथिल्लो नौगाड जलविद्युत् आयोजनाले समेत विद्युत् उत्पादन शुरु गरेको छ । सो आयोजनाबाट कुल ८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप भएको हो ।  

४ बर्ष अगाडि

प्रतिक्रिया