विकास रनिङ शिल्डको तयारी पूरा

४ बर्ष अगाडि

नारायणगढको क्याम्पाचौरमा भोलि (शुक्रबार) बाट शुरु हुने राष्ट्रियस्तरको फुटबल प्रतियोगिता विकास रनिङ शिल्डको तयारी पूरा भएको छ ।

आयोजकले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जनाएको हो । यहाँ हुँदै आएका दुई प्रतियोगितालाई संयुक्तरूपमा ‘टुबोर्ग जेसिज विकास रनिङ शिल्ड–२०७६’ नामाकरण गरी आयोजना गर्न लागिएको हो ।
 
कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको विकास शिल्ड समितिका मूल संयोजक कपिल श्रेष्ठले जानकारी दिनुभयो । नारायणगढ जेसिजको आयोजना, चितवन जिल्ला फुटबल सङ्घको सहआयोजना र समितिको सहयोगमा हुनलागेको सो प्रतियोगितामा ‘ए’ डिभिजनका सहित १० राष्ट्रिय टिम सहभागी हुनेछन् । 

नारायणगढ जेसिजका अध्यक्ष विकासमान श्रेष्ठका अनुसार मैदान सम्याउने र दुबो हरियो बनाउने काम सकिएको छ । चारैतिर बार लगाइएको छ । दर्शकलाई बस्न सहज होस् भन्नका लागि मैदानको पश्चिमतर्फ अस्थायी प्यारापिटमा एक हजार ५०० दर्शक बस्न सक्ने क्षमता रहेको छ । प्रतियोगिताका लागि बनाइएका १६ उपसमितिहरूले सबै तयारी अन्तिम चरणमा पु¥याएको प्रतियोगिता संयोजक श्रेष्ठले जानकारी दिए ।
 
प्रतियोगितामा ‘ए’ डिभिजनका सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब, सरस्वती क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा क्लब, चितवन ११, मकवानपुर ११, झापा ११ र भारतको युनाइटेड दार्जलिङबीच प्रतिस्पर्धा हुनेछ । खेललाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’मा चितवन ११, झापा ११, सशस्त्र, मकवानपुर ११ र नेपाल आर्मी रहेका छन् । समूह ‘ख’ मा सङ्कटा, सरस्वती, पुलिस, जावलाखेल र युनाइटेड रहेका छन् ।
 
प्रतियोगिताको विजेताले रु छ लाख छ हजार ६६, शिल्ड र उपविजेताले रु तीन लाख तीन हजार ३३ र शिल्ड प्राप्त गर्नेछन् । प्रतियोगिता अवलोकनका लागि पहिलो चरणमा रु १०० र २०० को टिकट व्यवस्था गरिएको छ । क्वाटरफाइनलपछि भने टिकट दर फरक पर्न सक्ने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।
 
यो प्रतियोगितामा झण्डै चार दशकअघिको विकास रनिङ शिल्ड र दुई वर्षअघि शुरु भएको जेसिज कप फुुुटबल प्रतियोगिता मिलाएर यसपटक संयुक्तरूपमा जेसिज विकास रनिङ शिल्ड गर्न लागिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया