‘साथमा पैसा भयो भने सबैको हाई हाई, नभए कोही न कोही’

४ बर्ष अगाडि

‘साथमा पैसा भयो भने सबैको हाई हाई, नभए कोही न कोही’ भनेझै थियो, रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटकी हुमीकुमारी पाँडेलाई । आठ वर्ष अघिसम्म गर्जो टार्नै हम्मे हम्मे थियो, कष्टकर जीवन थियो तर, अहिले उहाँको दैनिकी बदलिएको छ । 

विगतमा दुई छोराछोरीको पठनपाठन, घरायसी खर्च धान्न धौ धौ भए पछि अर्थोपार्जन लागि उनले २०६९ सालदेखि व्यावसायिक बाख्रापालन शुरु गरिन्। 
     
बाख्रापालनका लागि हेफर इन्टरनेशनल नेपालबाट दश वटा माउ बाख्रा उपहार पाएपछि उहाँमा हौसला थपियो । बाख्रापालन शुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर उनी दङ्ग भइन्। 

 “बाख्रा पालेर छोटो समयमा राम्रो आम्दानी भएको छ, पहिला दुई चार पैसा ऋण सापटी नदिने आफन्त, टाढिने छिमेकी अहिले नजिकिन थालेका छन्,” उहाँले विगतका दिन सम्झँदै भन्नुभयो – “श्रीमान् श्रीमती मात्र घरमा छौँ । दुई जनाले व्यवसाय धानेका छौँ । व्यवसाय बढाउँदै लाने सोच छ ।” 

पाँडेले गत वर्ष मात्र ११ खसीबोका बिक्री गरी दुई लाख आम्दानी गर्नुभयो । वर्षमा करीव १२÷१५ वटासम्म खसीबोका बिक्री गर्ने उहाँको फार्ममा हाल २५ माउ बाख्रासहित ५० बाख्रा छन् ।
 
खसीबोका बिक्रीबाट हुने आम्दानी गाउँकै सहकारीमा बचत गर्दै आउनुभएको छ उहाँले । हालसालै मात्र छ खसीबोका बिक्रीबाट रु ९० हजार कमाइ गरिन् । आधुनिक खोर निर्माण गरेपछि उत्पादन वृद्धि हुदै गएको उहाँले बताए । 

गाउँमा रहेको उपहार सामाजिक उद्यमी महिला सहकारीले गाउँ गाउँ पुगेर खसीबोका सङ्कलन गरी बिक्रीका लागी बजारको व्यवस्था गरेपछि सिङ्गो गाउँ नै यतिखेर बाख्रापालनतर्फ आकर्षित बनेको छ । 
 सहकारीले तीन वर्ष अघिदेखि गाउँमा पुगेर कृषकले उत्पादन गरेका खसीबोका सङ्कलन गरी ग्राहकसम्म पु¥याउँदै आएको छ । कृषकलाई बजार खोज्ने समस्या छैन ।

वर्षमा करीब एक हजार खसीबोका सङ्कलन गरी बजार लैजाने गरेको सहकारीका व्यवस्थापक कृष्णमायाँ पाँडे मगर बताउनुहुन्छ ।

 “गत वर्ष ९५० खसीबोका सङ्कलन गरी बजार लग्यौँ,” उहाँले भन्नुभयो – “ यस वर्षको दशैंमा मात्रै २०५ वटा बिक्री गर्न सक्योैं ।   तिहारसम्म ४०० पु¥याउने योजना छ ।”  

सहकारी आफैंले व्यापारी तथा ग्राहकमार्फत खसीबोका बिक्री गर्ने व्यवस्था गरेपछि बिक्रीका लागि झण्झट नभएको अर्की बाख्रापालक लक्ष्मी आलेले बताइन् । आलेले यस पटकको दशैमा खसीबोका बिक्री गरेर रु ६५ हजार आम्दानी गरिन् । “बाख्रा पालेर राम्रै कमाई भएको छ, सहकारीले बिक्री गर्ने व्यवस्था गरेपछि व्यवसाय गर्न हौसला मिलेको छ,” उनले थपिन् ।
 
 दुर्गामाया सारुले पनि खसीबोका बिक्रीबाट राम्रै आम्दानी गर्दै आउनुभएको छ । बाख्रापालन व्यवसाय शुरु गरेपछि उनलाई चाडपर्वमा खर्च जुटाउन कुनै पिरलो छैन । सारुले खसीबोका बिक्रीबाट हालसालै रु ४७ हजार कमाइन ।

सहकारीले एक महिनामा कम्तीमा ४०  र बढीमा ७० वटासम्म खसीबोका बजार पु¥याउने गरेको छ । यसरी खसीबोका गाउँबाट बजार पु¥याएर खपत गरेबापत सहकारीले प्रतिकिलो रु पाँच लिने गरेको छ । सो रकम संस्थाको कोषमा जम्मा हुँदै आएको छ ।

 सानो ठूलो तौल अनुसार प्रतिकिलो न्यूनतम ३९० देखि ४५० सम्ममा ज्यँुदो खसीबोका बिक्री हुँदै आएको छ । कृषकले सहकारीमा खबर गरेपछि सहकारीका सञ्चालक समिति सदस्य घर घर पुगेर सङ्कलन गर्ने र बजार पठाउने गर्छन् ।  कृषकका खसीबोका बजार पु¥याउन सहकारीले पाँच स्थानमा सङ्कलन केन्द्र स्थापना गरेको छ । सहकारीमा गाउँका ६१५ महिला आबद्ध छन् । सबैका घरघरमा  बाख्रा पालिएको छ । कम्तीमा एक परिवारले चारदेखि बढीमा ७० सम्म बाख्रा पालेका छन् । 

सहकारीले गाउँमै पुगेर खसीबोका खरिद गर्न थालेपछि व्यावसायिक बाख्रापालनमा महिलाको आकर्षण बढ्दै गएको सहकारीका अध्यक्ष गङ्गीसरा सिङ्जालीले बताईन । उनका अनुसार वर्षमा एक परिवारले न्यूनतम ५० हजारदेखि तीन लाखभन्दा खसीबोका बिक्रीबाट आम्दानी लिइरहेका छन् । 

परम्परागत शैलीमा बाख्रापालन गरेका कृषकलाई उत्पादन वृद्धि गर्न आधुनिक खोर व्यवस्थापनमा ५० प्रतिशत सहयोग गरेपछि गाउँभरि नै बाख्रापालनको लहर आएको उनीले बताइन् । 

जिल्लाकै विकट र दुर्गममा पर्ने यस क्षेत्रका कृषकका उत्पादनलाई उपहार सामाजिक महिला उद्यमी सहकारीले बजार पु¥याइदिने प्रबन्ध मिलाएका कारण यहाँका महिला प्रतिष्पर्धामा गर्ने भावना जागेको छ । यस गाउँका महिलालाई अहिले बाख्रापालन आम्दानीको गतिलो माध्यम बनेको छ । आय वृद्धिसँगै यहाँका महिलाको दैनिकी नै बदलिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया