कुलमानलाई दङ्गालीको प्रश्नः १०० रुपैयाँ महसुल तिर्न १०० नै खर्च कहिलेसम्म गर्नुपर्ला ?

४ बर्ष अगाडि

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले अनलाइनबाट पनि महसुल बुझाउने व्यवस्था गरेको छ । त्यसका लागि एप नै बनाएको छ । एपमार्फत पनि महसुल बुझाउन सकिन्छ । चलनचल्तीमा विभिन्न प्रकारका एपहरु तथा पे वालेट समेत सञ्चालनमा छन् । यी त भए जान्नेका लागि । केही जाने बुझेका र सूचना प्रविधिको क्षेत्रमा जानकारका लागि यी उपाय सजिलै र सहज छन् । तर नजान्नेका लागि भने अझै पनि चर्को घाममा लाइन लागेर महसुल बुझाउनुपर्ने बाध्यता रहेको छ ।

आइतबार विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा विद्युतको महसुल बुझाउन आउनुभएका घोराही–६ का हर्कबहादुर डाँगीले गुनासो गर्दै भने – हामीले सरकारलाई पैसा बुझाउँछौँ भन्दा पनि यति सास्ती खेप्नुपर्ने ? विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा घण्टौँ लाइनमा बस्दा पनि पालो नआएपछि उहाँको आक्रोश झन् बढेको थियो ।  ५० रुपैयाँ टेम्पुलाई तिरेर आएको जाँदा ५० तिर्ने हो । १०० रुपैयाँ  विद्युत् महसुल बुझाउन अरु १०० रुपैयाँ खर्च हुन्छ, अझ दिनभरिको समय पनि त्यत्तिकै बित्ने गर्दछ ।

उनले  गाउँमा किराना पसलको ढोका बन्द गरेर महसुल बुझाउन आएको हुँदा रकमभन्दा पनि एक महीनाको विद्युत् महसुल बुझाउन एक दिन पूरै खर्च गर्नुपर्दा आफूजस्ता हरेक सेवाग्राहीलाई अन्याय भएको बताउनुभयो । घोराही–१ रामपुरबाट विद्युत् महसुल बुझाउन आएकी हरिमाया केसीको व्यथा पनि उस्तै थियो ।

गाडी चढेर १२ बजे कार्यालयमा आउनुभएकी उहाँले ३ बजे मात्रै पालो पाउनुभएको थियो । लगातार तीन घण्टासम्म लाइनमा बस्दा निकै थकाइ महसुस भएको उनले सुनाइन ।

बङ्गलाचुलीबाट विद्युत् महसुल तिर्न आएका रुद्रबहादुर घर्तीको समस्या झन् धेरै थियो । परिवारसहित घोराहीमा किनमेलका लागि आएकी उनलाई दिनभरि महसुल बुझाउने लाइनमा बस्नुपर्दाको सकस कम्ता थिएन । दिनभरि लाइनमा बस्नुभन्दा छिटो पालो आए बरु दोब्बर पैसा बुझाउने थिए भन्ने खालको आशय उनले  पटक–पटक व्यक्त गरिरहेकी थिइन ।

विद्युत् कार्यालय घोराही वितरण केन्द्रमा घोराही उपमहानगर र बङ्गलाचुली गाउँपालिका गरी करीब ३६ हजार विद्युतका ग्राहक छन् । विद्युत् ग्राहकको संख्याको आधारमा भन्दा पनि प्रत्येक दिन विद्युत् कार्यालयमा १ हजार २०० भन्दा बढी ग्राहक महसुल बुझाउनका लागि आइपुग्छन् तर कार्यालयमा विद्युत् बुझाउने काउन्टर भने २ वटा मात्रै छ । यसले गर्दा महसुल तिर्नेको भीडभाड हिजोआज सधैँजसो हुने गरेको सेवाग्राही बताउँछन् । काउन्टरदेखि निकै परसम्म महिला–पुरुषको छुट्टाछुट्टै लाइन लागेका हुन्छन् ।

कार्यालयले दुई महीनाभन्दा बढी समय विद्युत् नबुझाउनेको फटाफट लाइन काट्ने अभियान थालेको हँुदा भीड बढेको हुनसक्ने जनाएको छ ।

विद्युत् कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म समयमा विद्युत् नतिर्ने घोराही १४ र १५ नं वडाका करीब तीन दर्जन ग्राहकको लाइन काटिसकेको छ । कार्यालयका सूचना अधिकृत बमबहादुर बुढाथोकीले अब अभियानअन्तर्गत नियमित महसुल नबुझाउनेको लाइन काट्न शुरु गरिसकेको हुँदा महसुल बुझाउन छुटेकाहरु पनि तिर्न आउने क्रम बढेको बताए ।

यस्तै विद्युत् कार्यालयमा बढेको भीडको परिणाम पनि लाइन काट्ने अभियान भएको उनले बताए ।  भने – अब कार्यालयले मासिक विद्युत् महसुल बुझाउनुपर्ने र दुई महीनाभन्दा बढी समय महसुल नबुझाए लाइन काट्ने अभियान थालेपछि भीड बढेको हो । उनले थप अगाडि भने –हामीले नियमित विद्युत् नबुझाउनेलाई कारवाहीको दायरामा ल्याउन थालेपछि सेवाग्राही तिर्नका लागि आउने गरेका छन् ।

केही समय अगाडिसम्म चार काउन्टरबाट विद्युत् महसुल उठाइरहेको कार्यालयमा अहिले दुई काउन्टर बन्द भएका छन् भने दुईबाट मात्र सेवा प्रवाह भइरहेको छ । सूचना अधिकृत बुढाथोकीले दिएको जानकारीअनुसार एक कर्मचारीको सरुवा भएपछि र अर्का एक बिरामी भएर उपचारका लागि गएपछि बाध्यतावश दुई काउन्टर बन्द गर्नुपरेको बताए ।

पछिल्लो समय विद्युत् कार्यालयले कम्प्युटर प्रणालीमार्फत विद्युत् महसुल काट्ने र बुझ्ने गर्न थालेपछि काउन्टरमा तालीमप्राप्त कर्मचारीले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ । अहिले विद्युत् कार्यालयमा ५६ कर्मचारी कार्यरत छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया