अब उपत्यकामा ठूलो आवाज निकाल्ने मोटरसाइकल कुदाउन नपाइने

४ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गर्ने भएको छ ।

महाशाखाले सूचना जारी गर्दै मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएको भन्दै जरिवानाको घोषणा गरेको हो ।

जारी सूचनामामा उल्लेख भएअनुसार मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र सडकमा आवाज निकालेर चलाउनेलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिनेछ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिने तथा सर्बसाधारणमा अनावश्यक आवाजका कारण समस्या भएकाले रोक लगाउन लागिएको जानकारी दिए ।

उनले भने, ‘‘त्यस्ता मोटरसाइकलहरुबाट निस्कने आवाजका  कारण सडकमा अन्य सवारी चलाइरहेका चालक तर्सिने र दुर्घटना हुने, अशक्त एवं बिरामीहरु तर्सिने गरेका छन् ।, ढकालले भने,  ‘त्यस्ता बाइकहरु ओभर स्पीडमा कुदाइने गरिएको छ । ठूलो आवाजमा बाइक आउँदा के रहेछ भनेर हेर्दा समेत दुर्घटना हुने गरेको देखिन्छ ।’

‘त्यसरी समातिएकाहरु मध्ये कम्पनीबाटै ठूलो आवाजमा आउनेलाई चलाउन रोक लगाएका छौं’, ढकालले थपे, ‘कतिपय मोडिफाइ गरेर ठूलो आवाज निस्किने बनाइएका छन् । उनीहरुलाई पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाडेका छौं ।’

ट्राफिक प्रहरीका अनुसार कतिपय मोटरसाइकल कम्पनीबाट आउँदै ठूलो आवाज निस्किने डिजाइनमा बनेका हुन्छन् । ती मोटरसाइकलहरु ‘रेसिङ’ र पहाडी क्षेत्रमा कुदाउनका लागि बनेका हुन् । यद्यपि, उपत्यकामा त्यस्ता मोटरसाइकलहरु कुदाइने गरिएको छ ।

ट्राफिक महाशाखाका अनुसार त्यसरी ठूला आवाज निकाल्ने मोटरसाइकलमा डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायत छन् ।

‘ती मोटरसाइकलहरु कतिपय ३ सय ५० सीसी, कपितय ८ सय त कतिपय ६ सय सीसीका छन्’, महाशाखाका एक अधिकारीले भने ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया