मन्त्रीले किशोरीहरुलाई भनिन् — नेतृत्वका लागि तयार हुनुस्

४ बर्ष अगाडि

महिला, बालबालिका,तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले किशोरीहरुलाई भावी पुस्ताको नेतृत्वका लागि तयार हुन आग्रह गरेकी छन् । 

लैंगिक हिंसा विरुद्धको अभियान बर्ष मनाउने विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री थापाले किशोरीहरुलाई आज सामाजिक समस्या निराकरणमा सहभागी भएर भोलीको नेतृत्वका लागि तयार हुन आग्रह गरिन् । 

विगतमा राजनीति गर्ने महिलाहरुले गरेको मेहनत र बगाएको पसिनाका कारण आज सबै क्षेत्रमा महिलाको सहभागीता सम्भव भएको भन्दै उनले आजका किशोरीहरु पनि नेतृत्वका लागि मेहनेत गर्नुपर्ने बताइन् । 

“ठाउँठाउँमा गएर बोल्नुहुन्छ,समाजका कुराहरु बुझ्नुहुन्छ  त्यसले तपाइलाई समाजमा स्थापित हुन सहज हुन्छ ”, उनले भनिन् । 

“स्थानिय सरकारले तपाईंहरुका कुरा सुन्छ, सन्नुपर्छ, तपाईंहरुले स्थानीय सरकारलाई आफ्ना कुराहरु राख्नुस, काम गर्न सक्ने बनाउनुस् ।” 

किशोरी सञ्जालकी अध्यक्ष मेनुका थापाले छोरीहरुले सामाजिक कामका लागि घरबाहिर निस्कने कोशिस गरेपनि सामाजिक वातावरण सहज नहुदाँ समस्या रहेको बताइन् ।

“छोरीहरुलाई घरको काममा मात्र सिमित होस् भन्ने धारणा अझैपनि उस्तै छ,” उनले भनिन् “बाहिर गयो भने कहाँ गइस ?, किन गइस ? के का लागि गइस ? भनेर सोध्छन ।”

बर्दिया जिल्लाबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीलाई भेटेर आफ्ना सुझावहरु सुनाउन आएकी दिक्षा गिरीले शिक्षित व्यक्तिहरुबाटै लैंगिक विभेद भोग्नुपरेको बताइन् । 

उनले घरमै पनि महिनावारी भएको बेलामा बुवाआमाले खाना पकाउन जाउँ भनेर  भनेपनि पुजा गर्न जाउँ भनेर चाँही नभनेकोमा गुनासो गरिन् ।  

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७६ लाई लंैगिक हिंसा विरुद्धको अभियान बर्षका रुपमा मनाउन लागेको हो ।

जसका लागि मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तिहरुसंग नियमित छलफल गरिरहेको छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया