महेन्द्रनगरका पाँचै गल्लीमा आधुनिक सडक निर्माण गरिने

४ बर्ष अगाडि

कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारका पाँचै गल्लीमा ठूलो लगानीमा नालीसहित पक्की सडक निर्माण गरिने भएको छ । नगरपालिकाले क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पाँचै गल्लीमा सडक बनाउन लागेको हो ।
 
नगरपालिकामा नालीसहितका सडक निर्माण प्रक्रिया शुरु गरिएको छ । नगरपालिकाले सडक निर्माणका लागि रु एक अर्ब ७६ करोडको बोलपत्र आह्वान गरिसकेको छ । गुरुयोजना बनाएर बसाइएको महेन्द्रनगर बजारलाई व्यवस्थित र आधुनिक बनाउन पक्रिया अघि बढेको नगरप्रमुख सुुरेन्द्र विष्टले बताए ।
 
महेन्द्रनगर योजनाद्ध व्यवस्थित शहर हो । गुरुयोजनाअनुसार निर्माण गरिएको शहरलाई व्यवस्थित र सुन्दर बनाउन नगरपालिका सदा सक्रिय रहेको  नगरप्रमुख विष्टले बताए । उनले भने, “बजारका सबै गल्लीमा नालीसहितका सडक निर्माणकार्य प्रक्रिया शुरु गरिएको छ, यसले शहर थप सुन्दर र व्यवस्थित हुने आशा छ ।”

नगरपालिकाको पहिलो नगरसभाबाटै महेन्द्रनगरलाई व्यवस्थित र सुदूरपश्चिमको नमूना शहर बनाउने नीतिगत निर्णय गरेको थियो । नगरपालिकाका इञ्जिनीयर हिमालयसिंह ऐरका अनुसार पाँचै गल्लीमा नालीसहित उच्च गुणस्तरीय सडक बनाइने छ । साथै उनले बजार आसपासका सडक पनि बनाइने बताए।

अहिले भएका सडक पूर्णरूपमा भत्काएर पूरै आधुनिक नयाँ बनाइने उनले जानकारी दिए । इञ्जिनीयर ऐरका अनुसार बजारसहित मदनचोकदेखि मझगाउँ विमानस्थल, भानुचोकदेखि विष्णुमन्दिर सडक नरहसम्म, भाँसीदेखि रौटेला सडकको नहरसम्म, महाकाली अस्पतालदेखि ट्राफिक चोक, स्थानीय भीमपार्कदेखि सालघारी कालिका मन्दिर, हुलाकदेखि भगतपुर, भानुचोकदेखि सब्जीमन्डीसम्मका सडक नयाँ निर्माण गरिनेछन् ।

बजारको फुटपाथसमेत हटाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सबै सडक सात दशमलव ५० मिटर चौडा र आधुनिक हुनेछन् । सडक निर्माण भएसँगै महेन्द्रनगर बजारको मुहारै परिर्वतन हुने बताइएको छ । पहिलो चरणअन्तर्गत बनाइने सडक प्रभावकारी भएसँगै नगरका अन्य ग्रामीण भेग जोड्ने सडकसमेत निर्माण गरिने भएका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया