आइजिपी खनालसमेतलाई कारबाही गर्न मानवअधिकार आयोगको सिफारिस

४ बर्ष अगाडि


नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय कुमार पौडेललाई प्रहरीले पक्राउ गरि फेक इन्काउन्टरमा मारेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।
आयोगले संलग्न प्रहरीलाई कारबाही सिफारिस गरेको छ साथै आयोगले आदेश दिने उच्च प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

गत ५ असारमा सर्लाहीको लालबन्दीमा प्रहरीको गोलीबाट पौडेलको मृत्यु भएको थियो ।

सर्लाहीका पौडेललाई फेक इन्काउन्टरमा मारेको जनाउँदै आयोगले घटनामा संलग्न प्रहरी निरीक्षक कृष्णप्रसाद साह र प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी मुद्दा चलाउन निर्देशन दिएको छ।
प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायव निरीक्षक सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्का उठाउँदा त्रुटिपूर्ण काम गरेको भन्दै सचेत गराउनसमेत निर्देशन दिएको छ।

गृहमन्त्री रामबहादुर थापा ( बादल) ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताएका थिए। संसदको राज्यव्यवस्था समितिको बैठकमा असार ९ गते बोल्दै विप्लव समूहलाई समाप्त पार्न सरकारले कसैलाई निर्देशन नदिएको बताउदै उनले पौडेलको मृत्युबारे छानविन गर्ने पनि बताएका थिए।

आयोगले विवादित यस घटनाहरुमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न विषयगत विशेषज्ञ सहितको टोली गठन गरी अनुसन्धान गर्ने व्यवस्था गरी अनुसन्धानको लागि छुट्टै संयन्त्रको निर्माण गर्न तथा कुनै पनि सुरक्षा निकायका कर्मचारीहरु कानून विपरीतका आदेशहरु कार्यान्वयन नगर्न स्वतन्त्र रहनसक्ने व्यवस्थालाई कानून मार्फत नै संरक्षित गर्न समेत सरकारलाई सिफारिस गरेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया