डीभीका लागि दैनिक ४ हजार युवा पासपोर्टको लाईनमा,  ५ हजारमा बन्ने पार्सपोर्ट निकाल्न १५ हजार तिर्दै

४ बर्ष अगाडि

 फारम भरको दुई दिनमै पासपोर्ट हात परेपछि चितवनका पर्वत घिसिङ्ग सोमबार दङ्ग थिए। जिल्ला प्रशासन कार्यालयबाटै फारम भरेको भए जम्मा रु ५ हजारमा पासपोर्ट बन्ने भएपनि उनले १२ हजार तिरेर राहदानी विभागबाटै पासपोर्ट लिए । 

महंगो शुल्क तिरेर हतार हतारमा पासपोर्ट लिनु उनलाई विदेश जान हतार भएर भने होईन । बसोबासका लागि अमेरिका जान पाउने डाईभर्सिटी भिसा (डीभी चिठ्ठा) भर्नकै लागी पासपोर्ट बनाउनका लागि उनले द्रुतमाध्यबाट पासपोर्ट बनाएका हुन् ।  

आईतबार विहान पासपोर्ट बनाउन काठमाडौं आएका उनले सोमबार बेलुका पासपोर्ट हात पारेपछि मंगलबार डीभी भरेर घर फर्कने उनको योजना छ । 

काभ्रेका जिवनबहादुर बस्नेत आफ्ना १५ जना साथीहरुसहित पासपोर्टको फारम बुझाउने लाइनमा छन् । बस्नेत सहितका १५ जनालाई पनि कुनै विदेशी मुलुक जाने हतारो भने होइन, उद्देश्य उही हो डीभी भर्ने । “डीभीभर्नकै निम्ती काठमाडौं त आईयो तर यहाँको यस्तो भिडभाडले समयमै पासपोर्ट बन्ने हो की नबन्ने भनेर शंका लागीरहको छ ”, बस्नेत भन्छन् । 

पछि अध्ययनका लागि विदेश जान पनि पासपोर्ट चाहिने भएकाले अहिले डीभी भर्न पनि हुने र पछिका लागी पनि काम लाग्ने गरी पासपोर्ट बनाउन आएको उनले बताए । भन्छन्, “अहिले डीभी नपरे पनि पछि पढ्नका लागी बिदेश जान पासपोर्ट चाहिन्छ नै, त्यसैले अहिले बनाउन आएको हुँ ।” 

डीभी चिठ्ठा खुलेसँगै नारायणहिटी स्थित राहदानी विभागमा भिड लाग्ने गरेको छ । यसपालीबाट डीभी चिठ्ठा भर्नका लागी पासपोर्ट नम्बर अनिबार्य गरिएकोले देशभरीबाट धेरैले पासपोर्ट बनाउन काठामाडौं आएका छन् ।  

अक्टोबर २ (असोज १५) बाट खुलेको ईडीभी भर्ने अन्तिम म्याद ५ नोभेम्बर (कार्तिक १९) को बेलुकी पौने १० बजेसम्म तोकिएको छ ।

राहदानी बढाउने पाँच गुणा बढे
सामान्य अबस्थामा दैनिक ८ सय देखि १ हजार सम्म पासपोर्ट बनाउन आउने गरेकोमा अहिले ३५ सय देखि ४ हजारले राहदानी बनाउन आउने गरेको राहदानी विभागले बताएको छ । 

बिभागका अनुसार डीभी भर्न पासपोर्ट अनिवार्य भएको र मलेसियामा नयाँ राजगारी खुलेका कारणले पनि पासपोर्ट बनाउन आउनेका संख्या बढेका हो । डीभी खुल्नुअघि आवेदन दिनेको संख्या ४ सय ८१ रहेकोमा आइतबारसम्म डीभी भर्नेको संख्या २ हजार ६ सय ६२ पुगेको छ । 
राहदानी बनाउन आउनेको संख्या बढेसँगै प्रहरीलाई भिड समाल्न पनि मुस्किल परेको छ । त्यसमाथी बेला बेला डाउन भइरहने सर्भरका कारणले काममा अझै सुस्तता आएको छ, साथै थप भिडभाड बढेको छ ।

विभागका अनुसार एकै दिन पासपोर्ट निकाल्नका लागी रु १५ हजार लाग्छ । दुई दिनमा पासपोर्ट निकाल्नका लागी रु १२ हजार, तिनदिनमा निकाल्नका लागी रु १० हजार लाग्ने गरेको छ ।
धेरैको चहाना रु १५ हजार तिरेर एकै दिन एमआरपी लिने हुने गरेको पनि विभाग बताउछ ।

विभागका अनुसार, हराएको वा म्याद सकिएको पासपोर्ट फेरी बनाउन उल्लेखित रकममा थप रु ५ हजार लाग्ने छ ।

डीभी भर्नका लागी अनिवार्य पासपोर्टको व्यबस्था लागू भएपछि फोटो स्टुडियो वा बाटोमा राखिने डीभी भर्ने स्टलहरु भने घटेका छन् । 
लामो समयदेखि डीभी भर्दै आएको काठमाण्डौको बागबजारस्थित माईक्रो डिजिटल फोटो स्टुडियोमा विगतमा यतिबेला मान्छेले खचाखच भरिएको हुन्थ्यो । तर यसपाली मान्छे कम छन् । 

डीभी खुलेको आधा समयसम्म छ सात हजारले डीभी भरिसकेका हुन्थे तर यसपाली १ हजार पनि नपुगेको संचालक लक्ष्मण खनालले बताए । “अघिल्लो बर्ष लगभग १० हजारले यहाँ बाट डीभी भरेका थिए, यो बर्ष २,३ हजार पुग्न पनि मुस्किल पर्ला जस्तो छ ”, उनले भने । पासपोर्ट बनाउनेको सँख्या बढेकोले तिहार पछि धेरै मान्छे आउने उनको आशा छ । 
त्यस्तै बिगत १२ बर्ष भन्दा बढि समय देखि डीभी भर्दै आएको यारा डिजिटलका संचालक यमनाथ शर्माका अनुसार यस बर्ष डीभीभर्नेको सँख्या ८० प्रतिशतले घटेको छ ।

उनले भने, “पहिले दिनमा ५ सयसम्मले यहाँ डीभी भर्थे, हाल डेस सय पुग्न पनि मुस्किल पर्छ ।”

उनका अनुसार डीभी भर्नकै लागी पासपोर्ट बनाउनेमा विद्यार्थीको संख्या बढि रहेको छ । उनले भने – “यहिबेला पासपोर्ट बनायो भने डीभी पनि भरिने र पछि बिदेश जान पनि कामलाग्ने भएकाले अधिकांश विद्यार्थीहरुले पासपोर्ट बनाएका छन ।”

हरेक बर्ष नेपालबाट औषध ३५ सय नेपाली डीभी चिठ्ठामार्फत अमेरिका गईरहेका छन् ।  डीभी भर्नेको सँख्या भने बर्षेनी ५० हजार भन्दा धेरै हुने गरेको छ ।

डीभीको अहिलेसम्मको नतिजा हेर्दा १६ बर्षमा ४८ हजार भन्दा धेरै नेपाली उक्त भिसामार्फत अमेरिका गएका छन् । सन् २००२ का लागि भरिएको डीभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डीभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डीभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा २६९८ जना नेपालीहरुलाई डीभी चिठ्ठा परेको थियो ।

त्यसैगरी सन् २००६ का लागि भरिएको डीभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डीभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डीभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डीभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डीभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डीभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डीभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।

त्यस्तै सन् २०१३ का लागि भरिएको डीभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डीभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डीभी चिठ्ठामा ४ हजार ९ सय ९१ जनालाई चिठ्ठा परेको थियो । 

सन् २०१६ का लागि भरिएको डीभी लोटरीमा ३८ सय १ जना नेपालीहरुलाई लोटरी परेको थियो । उनीहरु अहिले अमेरिका आउने क्रम जारी छ । सन् २०१६ को मे ३ मा सार्वजनिक डीभी लोटरीको नतिजा अनुशार सन् २०१७ का लागि ४ हजार नेपालीहरुलाई डीभी लोटरी परेको छ । यसरी सन् २००२ देखि अहिलेसम्म अर्थात् १६ बर्षको अवधिमा ४८ हजार ७ सय ४५ जना नेपालीहरुलाई डीभी लोटरी परेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया