थन्कियो संसारकै ठूलो जहाज ‘एअरल्यान्डर’

४ बर्ष अगाडि

संसारकै सबभन्दा ठूलो जहाज ‘एअरल्यान्डर १०’ थन्किएको छ। छ वटा परीक्षण उडान सकेर यो जहाज अब थन्किने भएको हो। नमूनाका रूपमा बनेको यो पहिलो मोडलका आधारमा अब नयाँ जहाज बन्नेछन्। सन् २०२० मा नयाँ एअरल्यान्डर १० आकाशमा देखिने उत्पादक कम्पनी ‘हाइब्रिड एअर भेइकल्स’ ले जनाएको छ।

इंल्यान्डको बेडफोर्डसायरमा रहेको कम्पनीलाई यी मोडलका अरू जहाज उत्पादन गर्न बेलायतको नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तीन सय फिट लामो जहाजको दोस्रो परीक्षण उडानमा दुर्घटना भएको थियो। छेठौं परीक्षण उडान भने सफल भएको बताइएको छ। अब यसका कमजोरीहरू सुधारेर नयाँ जहाज उत्पादन थालिने कम्पनीले बताएको छ। ‘लक्जरी’ जहाज एअरल्यान्डर १० मा १५० फिट लामो क्याबिन छ। जसमा सुइट कोठा तथा बारको सुविधा छ। यसमा शिशाको भुइँ छ।

दुई वटा जहाज जोडिएका जस्तो देखिने एअरल्यान्डर १६ हजार फिटसम्मको उचाइमा पुग्ने क्षमता राख्छ। बढीमा १९ जना यात्रु बोकेर यो तीन दिनसम्म उडिरहन सक्छ। अब बन्ने नयाँ मोडलको एअरल्यान्डरको आकार पनि अहिलेकै जत्रो हुनेछ। अरू प्रविधि र सुविधाका बारेमा भने कम्पनीले जनाएको छैन।

४ बर्ष अगाडि

प्रतिक्रिया