तस्करीको मदिरासँगै पेस्तोल बरामद

४ बर्ष अगाडि

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट सशस्त्र प्रहरीले तस्करी हुन लागेको मदिरासहित आज अवैध हतियार बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताले ‘मेड इन इग्लैन्ड’ लेखिएको एक थान सिक्सर पेस्तोल र सोमा लोड भएको केएफ ७.६३ लेखिएको दुई राउण्ड गोली बरामद गरेको जनाएको छ । 

    सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीले २८ थान ‘कस्तुरी’ नामक मदिरासहित पेस्तोल बरामद गरेको सशस्त्र प्रहरी ६ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले बताए । 
नेपालबाट भारततर्फ नम्बर नलेखिएको मोटरसाइकलमा मदिरा तस्करी गरिरहेको अवस्थामा तस्करले छाडेर भागेको मदिराको बोरामा पेस्तोल फेला परेको हो ।

 तस्करले छाडेको मोटरसाइकल जाँच गर्दा बोराभित्र २८ थान कस्तुरी मदिरा र पेस्तोल फेला परेको सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताए । बरामद गरिएको पेस्तोल, मदिरा र मोटरसाइकल आज इलाका प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया